• १३ मंसिर २०८१, बिहिबार

मुख्यमन्त्रीले विश्वासको मत लिने

blog

मकवानपुर समाचारदाता

हेटौँडा, चैत ४ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुनः विश्वासको मत लिनुहुने भएको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट हटेसँगै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सभाबाट आगामी मङ्गलबार विश्वासको मत लिनुहुने भएको हो।

केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै बागमती प्रदेश सरकारबाट राप्रपा बागमती प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो। प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले गत फागुन १३ गते मन्त्रीबाट राजीनामा दिएका थिए। 

बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले मुख्यमन्त्री कार्यालयबाट मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र प्राप्त भएको जानकारी दिनुभयो। उहाँले मुख्यमन्त्री कार्यालयबाट चैत ८ गते विश्वासको मत लिनका लागि पत्र प्राप्त भएको जानकारी दिनुभयो। प्रदेश सभामा कुनै एक दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको अवस्थामा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले गत माघ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो। मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो। 

मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनेबारेको सूचना प्रदेश सभामा जानकारी गराइएको र प्रदेश सभामुखले बैठक बस्ने समय निर्धारण गर्न बाँकी रहेको प्रवक्ता गुप्ताले बताउनुभयो। प्रदेश सभामा रहेको सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

जम्कट्टेललाई नेकपा (एमाले), राप्रपा, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थन रहेको थियो तर १३ जना प्रदेश सभा सदस्य रहेको राप्रपाले समर्थन फिर्ता लिएको छ। प्रदेश सभामा कांग्रेसको ३७ जना, नेपाल मजदुर किसान पार्टीको तीन जना, एमालेको २७ जना, एकीकृत समाजवादीको सात जना र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन्।