• ११ मंसिर २०८१, मङ्गलबार

रोल्वालिङ हिमनदीबाट हिमाल चियाउँदा

blog

काठमाडौँबाट हिँडेको चौथो दिन, २०७३ कात्तिक १ गते बिहान गाइड फिन्जो शेर्पासहित हामी चार जनाले रोल्वालिङ हिमनदी नजिक रहेको ओमी च्छो (दूधपोखरी)लाई पछ्यायौँ । रोल्वालिङ उपत्यकाको बगर (मोराइन) तुसारोले सेताम्मे देखिन्थ्यो । अघिल्लो रात हामी ना गाउँ (चार हजार १८० मि.)मा बास बसेका थियौँ । हामी बसेको होटलकी आमासँग पनि पोखरीबारे जानकारी लियौँ । हिउँदमा हिउँले पुरिने विशाल बगर, सेता र खैरा ठूला ढुङ्गा तथा गेग्र्यानमा गोरेटो खुट्ट्याउन नसक्दा बाटो बिरियो । 

हिमबगरको ठुल्ठुला ढुङ्गा घुँडा दोब्य्राउँदै चढ्ने र पुठोले टेक्दै ओर्लंदै मात्र के गरेका थियौँ, चार हजार २५० मिटरभन्दा माथिको उचाइमा मुटुको धड्कन सामान्यबाट तुरुन्तै उकालो लागिहाल्यो । सबैलाई चिट्चिटाहट भयो । कसैलाई पिसाब तुरुक्क चुहिने अवस्था भयो भने कसैको दिसा निस्कने । मैले सबैलाई घोप्टो परेर बिस्तारै लामो सास तान्दै र फाल्दै गर्न भनेँ । हिँड्दा बिस्तारै पाइला सार्न अनुरोध गरेँ । धड्कन सामान्यको नजिक भएपछि मात्र बिस्तारै उकालो लाग्यौँ । 

करिब चार हजार ३०० मिटरमा पुगेपछि भने डोरेटो भेटियो । बिहानको बाक्लो हुस्सु कुलेलम ठोकेर गौरीशङ्कर नाघ्यो । केही मिटरको उकालो चढेपछि गोरेटोको पश्चिमोत्तर कुनामा सानो सेतो कुण्ड देखियो, त्यही नै दूधपोखरी रहेछ; जुन करिब चार हजार ४५० मिटरको उचाइमा रहेको छ । पोखरीमा साउने पूर्णिमामा ठूलो मेला लाग्ने जानकारी होटल सञ्चालिका आमाले दिनुभएको थियो । सानो भएकैले पोखरी भनिएको रहेछ तर पानी भने साँच्चिकै दूध भन्न मिल्ने सेतो देखिएको थियो । घाम नपर्ने चट्टानको कोप्चा–काप्चीमा भने बरफ जमेको देखिन्थ्यो । 

जलवायु परिवर्तनका कारण पोखरीको आकार खुम्चिएको वरपरको सुक्खा बगरले देखाउँथ्यो । पृथ्वीको तापक्रम बढेकाले हिमालमा पनि प्रत्यक्ष प्रभाव देखिन थालेको तीन दशक नाघेको छ । त्यसैको परिणामस्वरूप हिमनदीमा कतै हिमताल सुक्ने, कतै नयाँ हिमताल बन्ने अनि हिमनदी नै बालुवाको बगरमा परिणत हुने क्रम जारी छ । पश्चिमा देशमा भएको अत्यधिक औद्योगिकीकरणका कारण आज हाम्रा हिमाल र त्यसनजिक हिउँ जमिरहने पर्वत सुक्खा, जर्जर र डढेलो लाग्ने अवस्थामा पुगेका छन् । त्यसको मर्म पश्चिमाले बुझ्लान् र ? हिमालमा रमाउन उकालो चढ्दै गर्दा पृथ्वीमा वृद्धि भइरहेको तापमान र हामीलाई परेको त्यसको असरतिर अनायास मेरो ध्यान तानियो । 

त्यहाँबाट करिब एक घण्टाको उकालो पार गरेपछि रोल्वालिङ हिमनदीको शिरतिर हलुका खैरो बलौटे भाग र हिमालका चुचुरा नजिकै देखिए । केही मिनेट पहिले हामी सबैको टाउको वरपर बास बसेको चिट्चिटाहट अनायास हुस्सुको साथ लागेर कता हो कता कुलेलम ठोक्यो । कर्कलोका डाँठजस्ता भएका खुट्टा आपूmसँगै हिमालका लामबद्ध चुलीहरू टाँसिएको देख्दा सालको खाँबोजस्तै भएँ । हामी रोल्वालिङ हिमनदीको धारैधार माथि चढ्यौँ । धार कोप्रिएको ठाउँ गेगर धस्सिएर पहिरो झर्न सक्ने भएकाले होसियार हुनुपथ्र्यो । केही माथि फुस्रो पखेरोमा पुरानो लुङदार फहराइरहेको देखियो । 

रोल्वालिङ हिमनदीको पश्चिमी कान्लो कतै फुकेको थियो भने कतै साँघुरिएको । हिमनदीको पश्चिम खण्डमा बर्खाको घाँस सुकेर गाढा खैरो र घुरमैलो कालो देखिन्थ्यो । त्यसलाई पछ्याउँदै धारैधार उकालो चढ्दै गयौँ । क्रमशः नजिकका रोल्वालिङ शृङ्खलाका चुचुराहरूको सिङ्गो रूप, रोल्वालिङ हिमनदीको विशाल बगरको सुक्खा रूप, पूर्वदक्षिणमा रोल्वालिङ हिमनदीको बीचमा दूधकै रङमा रहेको च्छोरोल्पा तालको दक्षिण भाग देखियो । त्यस बेलासम्म भने हामी दूधपोखरीभन्दा माथि दृश्यावलोकनको घोडाको पिठ्युँजस्तो देखिने धारमा पुगेका थियौँ । 

म त्योभन्दा केही मिटर माथि चढेँ । सुरक्षित धारमा उभिएँ । त्यसपछि दायाँतिरबाट सारा उपत्यकाको क्रमशः अवलोकन गर्दै फनक्क घुमेर सुरुको बिन्दुमा पुगेर टक्क अडिएँ । चारैतिरको माथिल्लो भागबाट हिमालका चुचुरैचुचुराले मलाई नै हेरिरहेका थिए भने म उभिए वरपर विशाल रोल्वालिङ हिमनदी, च्छोरोल्पा ताल, ना गाउँ र त्यसभन्दा टाढा दक्षिणतिर फैलिएको विशाल रोल्वालिङ उपत्यका र रोल्वालिङ नदी देखिएका थिए । सर्वप्रथम मैले त्यस बेलाको त्यो अनुपम, अपरम्पार, अलौकिक दृश्यलाई आँखाका परेला झिम्क्याएर नानीभित्र सुरक्षित गरेँ ।

यस्तो दृश्यको अँगालोमा बाँधिँदा म थप भावुक बन्छु । सफा मौसमले छिट्टै मोहनी लगाउँछ । मौसम सफा भएर वरपरको दृश्य देखिँदा मात्र पनि मन फुरुङ्ग हुन्छ भने हिमालतिर उक्लँदा सफा मौसममा टलक्क चाँदीझैँ टल्कने हिउँले पुरिएका हिमालका लामबद्ध हिमाच्छादित सेता चुचुराहरू, नीलमणिजस्तो सफा नीलो आकाश, दुधौलेजस्तो देखिने दूधपोखरी, जति हे¥यो उति टाढासम्म फैलिएको रोल्वालिङ उपत्यका र हिमनदी, त्यसको माथि समूह बनाएर उडिरहेका हिमाली ढुकुर र काग, भित्तामै टाँसिएर फुलेका साना पहेँला हिमाली पूmल देख्दा कुन मनुष्यमा पो उमङ्ग नहोला र ? 

च्छोरोल्पा हिमनदी सुक्खा गर्गरे बगरमा परिणत भएकोमा मन कुँडिए पनि हिमाली तल्ला पखेराहरूमा हिउँ नदेखिए तापनि रमणीय प्रकृतिको स्वाद आफ्नै तौरतरिकाबाट लिएँ । साथीहरूले पनि फरकफरक धारमा आ–आफ्नै धुन र सुरमा प्रकृतिको काखमा त्यहाँबाट देखिएको दृश्य हेर्दै चरम् आनन्द लिए । हुस्सु टाढिएकाले कसैले पनि मन खुम्च्याएर भित्रभित्रै आँसु झार्न परेन । हिमालनजिक जाँदा मौसम सफा हुनु अपूर्व अवसर प्राप्त गर्नु हो किनभने मौसम अनुमान गर्ने जतिसुकै आधुनिक उपकरण भए पनि तीन हजार ५०० मिटरभन्दा माथिको मौसममा अचानक नै परिवर्तन आउन सक्छ । 

काठमाडौँदेखि ठीक पूर्वमा दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने रोल्वालिङ हिमालय शृङ्खला, समग्र हिमालयको अर्को प्रख्यात हिमशृङ्खला हो । रोल्वालिङ हिमालयको पूर्व नाङ्पा लादेखि सगरमाथा क्षेत्रको महालङ्गुर हिमालय शृङ्खला पर्दछ । रोल्वालिङ हिमालय खण्डमा चीनको तिब्बतमा पर्ने मेलुङ्त्से प्रथम (७१८१ मिटर) सबैभन्दा अग्लो हिमाल हो भने गौरीशङ्करका दुई चुली गौरीशङ्कर (सात हजार १३४ मि.) र गौरी (छ हजार ९८३ मि.) मध्ये गौरीशङ्कर यस शृङ्खलाको दोस्रो अग्लो हिमाल हो । रोल्वालिङको नेपालको अग्लो हिमाल चाहिँ गौरीशङ्कर हो । 

गौरीशङ्कर हिमालय क्षेत्रको उत्तर–दक्षिण फैलाव २० किलोमिटर र पश्चिम भोटेकोशीदेखि पूर्व तासीलाप्चासम्मको लम्बाइ ५० किलोमिटर छ । समग्र रोल्वालिङको नेपाल खण्डमा छ हजार मिटरभन्दा उचाइमा रहेका करिब ५० हिमालका चुचुरा रहेका छन् । धेरैको नामकरण हुन बाँकी छ र त्यो हिमालयको खण्ड खुम्बुको थामेनजिकको नाङ्पा लासम्म तानिएको छ । नाङ्पा ला (पाँच हजार ७१६ मिटर) थामे भएर तिब्बत जाने नाका हो । 

रोल्वालिङ खण्ड तामाकोशी नदीको पूर्वतर्फ तेर्सिएको छ तर खासमा रोल्वालिङ क्षेत्रलाई नदीको विभाजनअनुसार पश्चिममा तातोपानी खासा क्षेत्र (तिब्बतको नेलमतिरबाट आएको भोटेकोशी) र पूर्वमा नाङ्पा लादेखि आएको भोटेकोशी (पछि दूधकोशी भनिने)सम्मको ५० किलोमिटर लामो भागलाई बृहत् रोल्वालिङ हिमालय शृङ्खला क्षेत्र भन्न सकिन्छ । रोल्वालिङ उपत्यका भनेर चाहिँ च्छोरोल्पा नजिकको हिमनदी, त्यसबाट बनेको च्छोरोल्पा हिमताल र त्यसबाट बग्दै पश्चिमतिर लागेको खोलोलाई पनि रोल्वालिङ भनिन्छ । च्छोरोल्पा खोलोचाहिँ लामाबगरदेखि दक्षिणमा रहेको तागापोल दोभानमा तामाकोशीमा मिसिन्छ । लामाबगरदेखि उत्तरमा यसै तामाकोशी नदीले हिमालयको खण्डलाई काटेर रोल्वालिङ र जुगल एवं लाङ्टाङ हिमालय शृङ्खलालाई छुट्ट्याइदिएको छ । 

हामी त्यसै रोल्वालिङ मुख्य हिमशृङ्खलाको अन्य चुचुराको बीच, उत्तरदक्षिण भएर च्छोरोल्पा तालतिर मोडिएको रोल्वालिङ हिमनदी, च्छोरोल्पा ताल, तालबाट निस्केर बगेको रोल्वालिङ नदी र रोल्वालिङ उपत्यकाले घेरिएको रोल्वालिङ हिमनदीको उत्तरी पखेरोमा थियौँ । त्यहाँबाट ठीक अगाडि उत्तर पश्चिममा काङ नाचु गो (छ हजार ७३७ मि.), ओमी च्शो गो (छ हजार ३३२ मि.), उत्तरतर्फ ठाडो माछापुच्छ«ेको पखेरोजस्तो ठाडो भिरालो देखिने दिङइङ री, हिमनदीको पूर्वी शिरमा द्राङनाङ (छ हजार ८०१ मि.), पूर्वोत्तरमा रोल्वालिङ काङ (छ हजार ६६४ मि.), खाङ खार्पो (छ हजार ६४६ मि.), दक्षिणपूर्वमा चोबुजे खाङ ताग री (छ हजार ६८६ मि.) र दक्षिणमा च्छोरोल्पा ताल, त्यसको निकास, त्यसैबाट बनेको खोलो र उपत्यका देखिएको थियो । यहाँका धेरै चुचुरा आरोहणका लागि प्रख्यात छन् । त्यसका लागि नेपाल पर्वतारोहण सङ्घको अनुमति लिनुपर्छ । 

आँखाले देखिएको आधारमा (भित्र छिरेको हिमनदीको भाग देखिएको थिएन) करिब एक हजार ५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ भएको त्यो रोल्वालिङ हिमनदी हिउँ नभएको कारण सुक्खा, फुस्रो खरानी रङको बलौटे नदीमा परिणत भएको थियो । भिरालो परेको ठाउँमा बालुवा, गिटी, चट्टानसहितको बगरको थुप्रोमुनि कतै–कतै बरफका भीमकाय चट्टान देखिन्थे; जुन भित्रभित्रै पग्लेर भित्रैबाट च्छोरोल्पा तालमा पुग्छ । पृथ्वीको तापक्रम बढ्दै गएका कारण मौसममा आएको परिवर्तनले हिमनदी बालुवा र गिटीको नदीमा परिणत भएको हाम्रै आँखाले विगत केही वर्षदेखि देखिरहेका छौँ । विज्ञले त्यसलाई स्वीकार गरेका छन् । नेपालको धवलागिरि, अन्नपूर्ण, खुम्बु, मकालु र कञ्चनजङ्घाका हिमनदी पनि त्यस्तै सुक्खा भएका छन् र ती हिमनदीमा अकल्पनीय रूपमा साना र ठूला हिमताल बनेका छन् । बन्ने क्रममा छन् । अनुसन्धानमा संलग्न विज्ञको भनाइअनुसार ती ताल फुट्ने खतरा पनि त्यत्तिकै रहेको छ । 

हामीले सुक्खा हिमनदी देख्यौँ । त्यसबारे बहस गर्ने औकात हामीसँग रहेन । मनमा पीर त पर्ने नै भयो । त्यो पीरलाई सफा मौसमले भुलाइदियो । मौसम सफा भएर सबै हिमालका चुली, हिमनदी र वरपर छर्लङ्ग खुलेको हुनाले सम्पूर्ण पीडा, दुःख, थकाइ, उचाइमा लाग्ने बिमार बिर्सेर त्यो मनमोहक दृश्य हेर्नमै मग्न रह्यौँ । त्यो दृश्यको अवलोकन गर्दै रोल्वालिङ हिमनदीको किनारभन्दा माथिल्लो सुक्खा थुम्कोमा बसेर खाजा खायौँ । 

उच्च हिमाली क्षेत्रमा कहिलेकाहीँ अचानक मौसम परिवर्तन हुन्छ । त्यो सारा उपत्यका क्षणभरमा नै हुस्सु र कुहिरोभित्र पुरिन्छ । अति नै चिसो र शक्तिशाली हावा हुइँकिने, कालो बादल मडारिने, हिउँ पर्ने, बाटो बन्द हुने र हिमपहिरोमा पुरिने खतरा हुन्छ । हिमालमा जाँदा त्यसबारे होसियार हुन पर्छ । त्यसबेला मौसमले साथ दियो । त्यो दिन, दिनभर नै मौसम सफा रह्यो । साँच्चिकै खुसीको दिन थियो त्यो । मनभरि खुसीलाई साँचेर हामीले रोल्वालिङ हिमनदीबाट झरेर ना गुम्बाको अवलोकन ग-यौँ । त्यसपछि होटलमा फर्केर हिमाली चियाले थकाई मा-यौँ । 

लेखक पर्यटनका क्षेत्रमा कलम चलाउनुहुन्छ ।