• ७ वैशाख २०८१, शुक्रबार

रोजगारदातालाई ‘एफईआईएमएस’मा पहुँच

blog

काठमाडौँ, चैत ४ गते । वैदेशिक रोजगार विभागले गन्तव्य देशका रोजगारदातालाई आफ्नो सफ्टवेयर ‘एफईआईएमएस’ (वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली)मा पहुँच (एक्सेस) दिएको छ । पहिले रोजगारदाताले नेपालबाट श्रमिकको माग गर्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमै गएर कागजात पेस गर्नुपथ्र्यो, अहिले उक्त प्रक्रिया रोजगारदाताका लागि झन्झटिलो भएको भन्दै विभागकै सफ्टवेयरमा एक्सेस दिएको हो । 

भौतिक उपस्थिति हुँदा दूतावासका कर्मचारी र रोजगारदाताबीच स्वार्थको मोलमोलाइ हुने गरेको आरोप पनि लाग्दै आएको थियो । यसले प्रक्रिया थप पारदर्शी हुने बताइएको छ । 

नेपालका वैदेशिक रोजगार व्यवसायीले पनि एफईआईएमएसमा रोजगारदातालाई प्रवेश दिनुपर्ने माग राख्दै आएका थिए । एफईआईएमएसमा रोजगारदाताले आफूलाई नेपालबाट के कामका लागि कति जना श्रमिक चाहिए भनेर माग राख्नेछन् । सोहीअनुसार दूतावासले बाँकी प्रक्रिया अगाडि बढाउनेछ । विभागको यस सिस्टममा नेपालका म्यानपावर व्यवसायीको पनि 

‘एक्सेस’ छ । कम्पनीले पनि ती माग सोझै हेर्न सक्नेछन् । विभागका अनुसार यसले श्रमिक भर्ना प्रक्रियालाई सहज बनाउने जनाएको छ । माग प्रमाणीकरणसम्बन्धी थप प्रक्रियाबारे बुझ्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न रोजगारदातालाई विभागले आग्रह गरेको छ ।