काठमाडौँ, चैत ४ गते । नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सकविरुद्धको उजुरी एक सय नाघ्ने अनुमान गरिएको छ । हालसम्म ६६ उजुरीमध्ये २० उजुरीको निर्णय भइसकेको छ भने बाँकी उजुरीमाथि काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको छ ।
काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले निर्णय भएका २० उजुरीमध्ये पाँच उजुरी कारबाही गरिरहनु नपर्ने देखिएको जानकारी दिँदै केही उजुरीमा चिकित्सकमाथि कारबाही भएको जानकारी दिनुभयो । तीमध्ये तीनवटामा चिकित्सकलाई सचेत गराइएको छ । यस्तै चार उजुरीका आधारमा सम्बन्धित अस्पताललाई निर्देशन दिइएको छ । छ उजुरीमा भने थप कारबाही गर्नुपर्ने उल्लेख छ ।
उहाँले दुईवटा उजुरीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत कारबाही अगाडि बढाउनुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । काउन्सिलले १४३ जना चिकित्सकको नाम दर्ता सूचीबाट हटाएको छ । उनीहरूको प्रमाणपत्र नक्कली प्रमाणित भएका कारण नाम दर्ता सूचीबाट हटाइएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका इथिकल बोर्डका संयोजक डा. कालुसिंह खत्रीले काउन्सिलमा परेको उजुरीमध्ये १० देखि १५ प्रतिशत चिकित्सकले कुनै न कुनै रूपमा गल्ती गरेको देखिएको बताउनुभयो । उहाँले सबैभन्दा बढी उजुरी उपत्यकाभित्रका हुने गरेको बताउनुभयो ।
काउन्सिलमा चिकित्सक दर्ता हुने भएकाले चिकित्सकको मात्र आचरण र व्यवहार हेर्न मिल्ने भनाइ काउन्सिलका पदाधिकारीको छ । यसबाहेक गुणस्तरीय स्वास्थ्य सेवाअन्तर्गत अस्पतालका बारेमा पनि उजुरी दिन सकिने व्यवस्था छ ।
उहाँले भन्नुभयो, “घटनामा चिकित्सकको मात्र संलग्नता हुँदैन । त्यहाँ टिमले काम गरेको हुन्छ । स्वास्थ्यकर्मीलाई कारबाही गर्न मेडिकल काउन्सिलले मिल्दैन ।”
नेतृत्वकर्ता र उत्तरदायी चिकित्सक हुने भएकाले उनीहरूलाई कारबाही गर्न मिल्ने काउन्सिलको भनाइ छ । डा. खत्रीले कुनै घटनामा नर्स वा अन्य स्वास्थ्यकर्मीको त्रुटि हुन सक्ने भन्दै थप्नुभयो, “नर्सिङलगायतका अन्य काउन्सिललाई कारबाहीको सिफारिस गरिए पनि समूहमा काम गरेको भन्दै उनीहरू पन्छिन खोज्छन् ।”
१० वर्षयता स्वास्थ्य व्यवसायी परिषद्, नर्सिङ परिषद्, आयुर्वेद व्यवसायी परिषद्, आयुर्वेदिक काउन्सिलले आफ्ना स्वास्थ्यकर्मीलाई कारबाही नगरेको आरोप लगाउँदै उहाँले अन्य काउन्सिलले कारबाहीप्रतिको चासो नदेखाउँदा समस्या देखिएको गुनासो गर्नुभयो । यसैबीच मेडिकल काउन्सिलले मेडिसिटी अस्पतालका दुई जना चिकित्सकलाई कारबाही गर्ने निर्णय गरेको छ ।
बिरामीको उपचारका क्रममा अस्पतालका चिकित्सकले व्यावसायिक आचरण पूरा नगरेको भन्दै उहाँहरूलाई कारबाहीको निर्णय गरेको हो । मेडिसिटी अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइन सर्जन डा. सुनीलकुमार शर्मा र डा. राजीव मिश्रलाई चिकित्सकीय व्यावसायिक आचरण सुधार गर्न निर्देशनसहित सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।
दुई चिकित्सकले योगेन्द्रबहादुर बस्नेतको उपचारमा त्रुटि गरेको ठहर गर्दै कारबाही गरेको बोर्ड संयोजक डा. खत्रीले जानकारी दिनुभयो । गत जेठ २५ गते बस्नेतको मृत्यु भएको थियो । चिकित्सकको कमजोरीका कारण बस्नेतको मृत्यु भएको भन्दै निजका छोरा समीर बस्नेतले चिकित्सकमाथि कारबाहीको माग गर्दै उजुरी दिनुभएको थियो । काउन्सिलले गरेको छानबिनमा उपचारका क्रममा चिकित्सकले व्यावसायिक आचरण पालना नगरेको पाइएपछि निलम्बन गरिएको हो । काउन्सिलका अनुसार दुवै जना चिकित्सकलाई चैत ५ देखि ११ गतेसम्मका लागि निलम्बन गरिएको छ ।