• ३० जेठ २०८२, शुक्रबार

भारतबाट फर्किने तिन जनामा कोरोना सङ्क्रमण

blog

गौरीफन्टा नाका । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ २९ गते । भारतबाट फर्किने तिन जनामा आज कोरोना पुष्टि भएको छ । 

गौरीफन्टा नाकामा गरिएको परीक्षणमा तिन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा शङ्कास्पद् ३१ जनाको नाकामा परीक्षण गरिएको थियो ।  

भारतमा कोरोना सङ्क्रमण बढेपछि त्यहाँबाट फर्किने नेपालीहरूमा पनि सङ्क्रमण देखा परिरहेको छ । कोरोना सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, पुलघाट र झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर जाँच गर्ने कार्य भइरहेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताउनुभयो । उहाँले नाकाहरूमा साढे तीन सय परीक्षण किट पठाइएको जानकारी दिनुभयो । 

जेठ २१ गतेदेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये आठ जना निको भइसकेको निर्देशनालयले जानकारी दिएको छ । सङ्क्रमितहरूमा साधारण लक्षण देखिने गरेकाले घरमै आइसोलेसनमा बस्ने गरी पठाउने गरेको जोशीले जानकारी दिनुभयो ।