चितवन, जेठ २९ गते । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन(मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।
नागढुङ्गा-मुग्लिन सडक आयोजना [पश्चिम खण्ड] का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवारी बन्द गर्न लागिएको हो । बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उहाँले शुक्रबारदेखि असार ७ गतेसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द हुने जानकारी दिनुभयो ।
नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छन् । यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनहरू मलेखु र हलुका सवारी साधनहरू शीतलबजारमा रोकिने छन् । रोकिएका सवारी साधनलाई बिहान ३ः०० बजेपछि मात्रै छोडिने उहाँले जानकारी दिनुभयो ।