• १६ चैत २०८०, शुक्रबार

ढल्केबरमा अत्याधुनिक नाटक घर बन्ने

blog

नाटक घर निर्माणको शिलान्यास गर्नुहुँदै मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, चैत ३ गते । धनुषाको मिथिला नगरपालिका –८, ढल्केबरमा अत्याधुनिक नाटकघर बन्ने भएको छ । कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो नाटकघरको शिलान्यास गरिएको छ । 

शुक्रबार मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले नाटकघरको शिलान्यास गर्नुभयो । नगरप्रमुख महतोले शिलान्यासमा मात्रै सीमित नराखी छिटोभन्दा छिटो नाटक घर निर्माण गर्न सुझाव दिनुभयो । समाज परिवर्तनमा नाटकको महत्वपूर्ण भूमिका हुने हुँदा नाटक घर बनाउन नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता  उहाँले जनाउनुभयो ।  

मिथिला नगरपालिकाले उपलब्ध गराएको तीन कठ्ठा क्षेत्रफलमा आधुनिक शैलीमा निर्माण हुने नाटकघर बन्न लागेको छ । मधेश प्रदेशमा ख्याति कमाएका रोचक एण्ड घोचक नाट्य समूहले सो नाटकघर बनाउन लागेको हो । 

करिब एक करोड रुपियाँको लागतमा चारसय सिट क्षमताको सुविधासम्पन्न नाटक घर निर्माण हुने रोचक एण्ड चोचक नाट्य समूहका अध्यक्ष प्रदीप महतोले बताउनुभयो । नाटक घरमा प्रकाश, ध्वनिको उच्चतम प्रविधिको प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष महतोले मधेश प्रदशकै सबभन्दा ठूलो नाटकघर बन्ने बताउँदै निर्माणमा लाग्ने खर्च स्थानीय तह तथा विभिन्न दातृ निकायबाट सहयोग सङ्कलन गरिने बताउनुभयो । मिथिला नगरपालिका वडा ८ का वडाध्यक्ष वीरेन्द्र महतोले वडा विकास योजनाबाट उपलब्ध गराएको पाँच लाख रुपियाँबाट निर्माण शुरु गरिने जानकारी दिनुभयो ।