• १२ मंसिर २०८१, बुधबार

पोखरामा स्ववियु चुनाव अनिश्चित

blog

सन्तोष सुवेदी

कास्की, चैत ३ गते । देशकै सबैभन्दा धेरै मतदाता रहेको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची राखिएको थियो। तर क्याम्पसको निर्वाचन कार्यालयमा लागेको ताला नखुल्दा उम्मेदवारी दर्ता हुन सकेन। उम्मेदवारी दर्ता अगावै निर्वाचन समितिले विद्यार्थीको व्यक्तिगत विवरण सार्वजनिक गरेको भन्दै विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन नसकेको हो। 

फागुनको २५ गते पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको विस्तृत जानकारीसहितको विवरण सार्वजनिक भएको थियो। फागुन २६ गते एक समूहले आफूहरूले राखेको नाम नपाएको भन्दै उच्च अदालत पोखरामा रिटसमेत दायर गरेको हो। सो रिटमा उच्च अदालत पोखराले फागुन २८ गते तत्कालका लागि निर्वाचन गतिविधि अगाडि नबढाउन आदेश दिएपछि पीएन क्याम्पसमा स्ववियु निर्वाचनका गतिविधि शून्यजस्तै भएका छन्। 

सो क्याम्पसमा मात्रै होइन, पोखराका अन्य आङ्गिक क्याम्पसमा पनि विवाद बढ्दा स्ववियु उम्मेदवारी दर्ता हुन सकेको छैन। पोखरा वन विज्ञान क्याम्पस, संस्कृत क्याम्पसमा उम्मेदवारी दर्ता नै हुन सकेको छैन।

त्यस्तै जनप्रिय क्याम्पसमा पनि विद्यार्थीको भर्नाबारे विवाद बढ्दा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) एकाइ समितिको असन्तुष्ट समूहले स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनशन थालेको छ।

सो समूहले निर्वाचन समितिले धाँधली गरेको भन्दै स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गरेको हो। निर्वाचन अधिकृतको राजीनामा, नयाँ निर्वाचन अधिकृत नियुक्ति र नयाँ निर्वाचन कार्यतालिका माग गर्दै सो समूह बुधबारदेखि आमरण अनशन बसेको हो। 

स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको समयमा क्याम्पसको एकाइमा बाहिरी व्यक्ति प्रवेश गरेको भन्दै क्याम्पस एकाइ कमिटी उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले फागुन २७ गते सामूहिक राजीनामा दिएका छन्। चैत ५ गते निर्वाचनको मिति तोकिए पनि अहिलेसम्म उम्मेदवारी दर्ता नभएकाले निर्वाचन नहुने पक्कापक्की जस्तै छ। पोखरामा आयोजित ‘स्ववियुको आवश्यकता र औचित्य’ विषयक अन्तत्र्रिmया कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पसका सभापति गौरव बरालले क्याम्पस प्रशासनले निर्वाचनलाई अनावश्यक टाउको दुखाइको विषय बनाएको भन्दै क्याम्पस प्रमुखले विद्यार्थी सङ्गठनहरूलाई छलफलमै नबोलाएको बताउनुभयो।

उहाँले स्ववियुमा क्याम्पस प्रशासनको प्रमुख भूमिका रहेको र त्यसका अलावा निर्वाचन समिति, विभिन्न विद्यार्थी सङ्घ सङ्गठन र अमुक राजनीतिक पात्रहरूका कारण क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको आरोप लगाउनुभयो। अनेरास्वियु पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले क्याम्पसमा स्ववियु नहुँदा शैक्षिक विकृति बढेको बताउनुभयो। स्ववियु नहुँदा क्याम्पसका विद्यार्थीहरूको समस्याको समाधान नभएको भन्दै तत्काल निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो।

एकीकृत समाजवादी निकट अनेरास्ववियुका नेता सन्तोष न्यौपानेले क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूह बनाएर निर्वाचन भाँड्न खोजेको आरोप लगाउनुभयो। उहाँले सबै विद्यार्थी सङ्गठन मिलेर स्ववियु निर्वाचन सम्पन्न गराउन आवश्यक रहेकोमा जोड दिनुभयो।