अविनाश चौधरी
धनगढी, चैत २ गते । नेपालका लागि युरोपियन युनियन (इयु) तथा इयु सदस्य तीन राष्ट्रका राजदूतहरुको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटवार्ता गरेको छ ।
इयुका राजदूत नोना डिप्रेजसहित चार जना राजदूतहरूको टोलीले आज बिहान मुख्यमन्त्रीसँग भेटवार्ता गरेको हो । सो टोलीले युरोपियन युनियनको सहयोगमा सुदूरपश्चिम प्रदेशमा सञ्चालित विभिन्न परियोजना र विकासका गतिविधिको निरीक्षण गरेको थियो । सुदूरपश्चिम प्रदेशको भ्रमण सकेर फर्केको राजदूतहरूको टोलीले विकासको सवालमा मुख्यमन्त्री शाहसँग छलफल गरेको जनाइएको छ । भेटवार्ताको क्रममा मन्त्रीद्वय नरेशकुमार शाही र प्रकाशबहादुर देउवाको पनि उपस्थिति थियो ।
टोलीमा जर्मनीका राजदूत थोमस प्रिन, फ्रान्सका राजदूत गिल्स बोरबाओ र फिनल्याण्डका राजदूत रिना रिक्का हेईक्का रहनुभएको छ । यसैगरी, बुधवार सो टोलीले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसँग पनि भेटवार्ता गरेको थियो । राजदूतहरूको टोलीसँग विकास लगायत विभिन्न विषयमा छलफल भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।
सुदूरपश्चिमको चारदिने भ्रमणका लागि फागुन २९ राजदूतहरूको टोली यहाँ आएको थियो । सो टोलीले धनगढीको सेती प्रादेशिक अस्पतालको अवलोकन गर्नुका साथै युरोपियन युनियनका सदस्य राष्ट्रहरूको सहयोगमा सुदूरपश्चिमका विभिन्न जिल्लामा सञ्चालित परियोजनाको निरीक्षण गरेको थियो । भ्रमणको क्रममा विभिन्न पालिकाका प्रमुख, उपप्रमुखसँग भेटघाट र छलफल गरिएको छ ।