• १२ मंसिर २०८१, बुधबार

लय समाउँदै हवाई उडान

blog

सन्तोष सुवेदी

कास्की, चैत २ गते ।   पोखरामा माघ १ गते भएको जहाज दुर्घटनाले यात्रुको सङ्ख्या एकाएक घट्न पुग्यो । कतिपय उडान यात्रुविहीन पनि भए । उक्त दुर्घटनालगत्तै काठमाडौँ–पोखरालगायतको हवाई उडान निकै सुस्तायो । जहाज चढ्नु हुँदैन भन्ने मनोवैज्ञानिक त्रासका कारण हवाई यात्रा गर्ने यात्रुको खडेरी नै भयो तर आजभोलि यात्रुको चाप बढ्न थालेको विमान सञ्चालकहरू बताउँछन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक हवाई सेवाको चाप बढ्न थालेको छ । पोखराको हवाई उडान लयमा फर्किएको विमानस्थल प्रवक्ता जशोदा रेग्मीले बताउनुभयो । “अब  विस्तारै पर्यटकीय सिजन सुरु हुन पनि लाग्यो । अहिले उडान निकै राम्रो भएको छ,” उहाँले भन्नुभयो । पोखरा आउजाउ गर्ने यात्रुको सङ्ख्या बढेसँगै दैनिक २० भन्दा बढी उडान भइरहेको उहाँले जानकारी दिनुभयो । रेग्मीका अनुसार पोखराबाट बाहिरिने यात्रुको सङ्ख्या एक हजार ५३४ र पोखरा ओर्लिनेको सङ्ख्या एक हजार २१० पुगेको छ । 

एकै दिनमा झन्डै साढे २७ सय यात्रु आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउजाउ गरेका छन् । पछिल्लो सातादेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान पनि हुन थालेको छ । 

काठमाडौँ, भैरहवा, नेपालगञ्ज र भद्रपुरबाट रात्रिकालीन उडान भरेर जहाज पोखरा आउजाउ गरिरहेका छन् । पोखराका लागि रात्रिकालीन उडान भरेका बुद्ध एयरका चारवटा जहाजको रात्रि बिसान पोखरामै हुने र भोलिपल्ट बिहानै पोखराबाट विभिन्न गन्तव्यमा उडान हुने भएकोले यात्रुको सङ्ख्या बढेको रेग्मीले बताउनुभयो । रात्रिकालीन उडान सुरु भएसँगै डिले भएका उडान सहज हुँदै आएको उहाँले बताउनुभयो । ‘‘रात्रिकालीन उडान सुरु भएसँगै डिले उडान हुने जहाज क्यान्सिल हुन परेको छैन् । जसले गर्दा यात्रुलाई सहज हुने गरेको छ,” उहाँले भन्नुभयो । 

कुनै अवरोध नआउने हो भने आगामी दिनमा पोखराका हवाई यात्रु र उडान सङ्ख्या अझै थपिने रेग्मीले बताउनुभयो । “पहिलो दिउँसो ४:०० बजेपछि पोखरामा उडान हुँदैन भन्ने सन्देश फैलिएको थियो । अब यता उडान सुरु भएपछि त्यो समस्या समाधान हुँदै जानेछ । साँझ अबेरसम्म पनि पोखराका लागि हवाई उडान भइरहेका छन्,” उहाँले भन्नुभयो । 

फेब्रुअरी २३ (फागुन ११ गते) बाट पोखरा विमानस्थल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आईएफआर) पूरा भइसकेको छ । रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पार गरेसँगै हवाई फ्लाइट र यात्रु बढ्न थालेको प्रवक्ता रेग्मीको भनाइ छ । विमान दुर्घटनाअघि ४८ वटासम्म आन्तरिक उडान भएकोमा त्यसपछि पुस १६ गतेसम्म आइपुग्दा २६ वटा फ्लाइटमा खुम्चिएको भए पनि यो सङ्ख्या वृद्धि भएको विमानस्थलले जनाएको छ ।

बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले अहिले काठमाडौँ–पोखरा रुटको हवाई उडानको यात्रु अकुपेन्सी अनुपात करिब ८० प्रतिशत पुगिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार हवाई उडान गर्ने यात्रुको सङ्ख्या बढेको बताउनुभयो ।  

रूपाताल छेउमा सिस्टेनी मेला

रूपातालको प्रचारप्रसार गर्न शान्तिरूपा वराहथोक तमु युवा परिवारले पोखराको रूपाताल छेउमा ‘सिस्टेनी मेला’ आयोजना गरेकोे छ । रूपाताल खोलाको छेउमा परापूर्वकालदेखि लाग्दै आएको पुरानो सिस्टेनी मेला चैत १५ गतेदेखि १७ गतेसम्म लाग्ने जनाइएको छ ।

शान्तिरूपा तमु समाजका निवर्तमान अध्यक्ष तुलबहादुर गुरुङले परापूर्वकालदेखि लाग्दै आएको मेलालाई ब्युँताउने प्रयासस्वरूप मेला सुरु गर्न लागिएको बताउनुभयो । रूपाताल छेउमा पहिले चैते दशैँको अवसरमा दुई दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो ।

हजारौँको सहभागिता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे,” अध्यक्ष गुरुङले भन्नुभयो, “जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोकोलगायतका सामग्री किन्ने गतिलो अवसर यही मेला थियो । त्यही अवसर सिर्जना गर्न मेला गर्न लागेका हौँ ।’’

मेलाकै अवसरमा साबिक वडास्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, भाले प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता हुने शान्ति वराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङ्जालगायत जिल्लाबाट २० टिम सहभागी हुने अनुमान गरिएको छ ।

मेला सम्पन्न गर्न तीन लाख ९९ हजार रुपियाँ खर्च र दुई लाख २५ हजार रुपियाँ बचत हुने अनुमान गरिएको मेला अर्थ सङ्कलन समितिका सहसंयोजक सुबेदार तुलबहादुर गुरुङले बताउनुभयो ।

मेलामा लाग्ने उक्त खर्च विभिन्न प्रायोजक संस्था र व्यक्तिबाट सहयोग सङ्कलन गरी जुटाइनेछ । मेलामा सहभागी हुने दर्शकका लागि स्थानीय कलाकारबाट विभिन्न मनोरञ्जनमूलक कार्यक्रम गरिने मेला आयोजक मूल समितिको संयोजक क्याप्टेन बुद्धिबहादुर गुरुङले बताउनुभयो ।