• ११ मंसिर २०८१, मङ्गलबार

करोडौँ लगानीको ‘कोभिड ल्याब’ प्रयोगहीन

blog

पाल्पा समाचारदाता

पाल्पा, चैत २ गते । कोरोना महामारीका बेला स्थापना गरिएको ‘कोभिड ल्याब’ प्रयोगहीन बनेको छ । करिब डेढ करोड रुपियाँ खर्च गरेर तानसेनको धोबीधारामा स्थापना गरिएको कोभिड ल्याब हाल आएर प्रयोगहीन अवस्थामा पुगेको हो । 

नेपाल सरकारले २०७७ साल असोजमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालन गरेको थियो । हाल आएर यो ल्याब सञ्चालन हुन नसकेको पाल्पा अस्पतालले जनाएको छ । 

कोरोना सङ्क्रमण घटेको अवस्था र सरकारले बजेटसमेत उपलब्ध नगराएकाले कोभिड ल्याब सञ्चालन गर्न नसकेको पाल्पा अस्पतालका डा. रमेश खड्काले जानकारी दिनुभयो ।

“गत २०७९ साउनदेखि कोरोना ल्याब सञ्चालन हुन सकेको छैन,” खड्काले भन्नुभयो, “अब ल्याब के गर्ने भन्ने सरकारको निर्णयअनुसार अघि बढ्छौँ । अहिले ल्याबमा काम गर्ने कर्मचारीसमेत छैनन् ।”पीसीआर ल्याब स्थापनाका लागि सङ्घीय सरकारले डेढ करोडभन्दा बढी रकम विनियोजन गरेको थियो । यस्तै स्थानीय तहले तानसेनस्थित धोबीधाराको जिल्ला समन्वय समितिको पुरानो भवन मर्मत–सम्भार तथा ल्याब निर्माण गर्न लाखौँ खर्च गरेको थियो । 

पछिल्लो समय कोरोना सङ्क्रमण सुस्त गतिमा भएपछि पाल्पा अस्पतालमातहत सञ्चालित ल्याबमा कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । 

हाल जिल्लामा मिसन अस्पतालले मात्रै कोरोना परीक्षण गरिरहेको बताउँदै उहाँले पाल्पा अस्पतालबाट पछिल्लो केही महिनायता कोरोना परीक्षण हुन नसकेको बताउनुभयो । 

कोरोना परीक्षण ल्याबलाई अन्य किसिमको सरुवा रोगको परीक्षण गरेर प्रयोगमा ल्याउन सकिने नेपाल परिवार नियोजन सङ्घका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले बताउनुभयो । पीसीआर ल्याबभित्र अन्य सरुवा रोग परीक्षण गरेर बाहिरी जिल्लामा जानुपर्ने बाध्यतालाई हटाउन सकिने न्यौपानेले बताउनुभयो ।

यसैबीच जिल्लाका विभिन्न स्थानमा बनेका अस्थायी कोभिड अस्पतालसमेत प्रयोगहीन बनेका छन् । स्थानीय तह, प्रदेश सरकारबाट लाखौँ रकम खर्च गरेर बनेका भौतिक संरचना तथा अन्य मेडिकल उपकरण उपयोग हुन सकेको छैन । 

कोरोनाका बेलामा बनाइएका अस्थायी कोरोना अस्पताल, होल्डिङ सेन्टर अहिले प्रयोगमा आउन सकेको छैन । त्यतिबेला जिल्लाका अधिकांश पालिकाले अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएका थिए । यस्तै बिरामी जाँचमा प्रयोग हुने अक्सिमिटर, क्वारेन्टाइन, थर्मल गन तथा बिरामीले प्रयोग गर्ने बेडसेट तथा अन्य सामग्री अहिले लथालिङ्ग छन् । कोरोना महामारीका बेला लाखौँ रकम खर्च गरेर पालिकाले खरिद गरेका सामग्री प्रयोगहीन बनेका हुन् ।