• १० पुस २०८१, बुधबार

खानेपानी नियमित गर्न माग

blog

लहान समाचारदाता 

लहान, चैत २ गते । लहान नगरपालिका–२३ मा निर्माण भएको ओभरहेड टयाङ्कबाट खानेपानी नियमित हुनुपर्ने माग स्थानीयले गरेका छन्। 

आठ सय घरधुरीका लागि आठ करोड रुपियाँको लागतमा निर्माण भएको ओभरहेड ट्याङकीबाट पाइप जडान भएर पानी खाने रहर कहिले पूरा होला भन्ने टुङ्गो नभएको स्थानीय विनोद सहनीले बताउनुभयो। उहाँका अनुसार करोडाैँको लागतमा निर्माण भएको परियोजनाको निर्माणका लागि उपभोक्ता समिति गठनका लागि नै विवाद भइरहयो। 

पूर्ववडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको अध्यक्षतामा समिति गठन भए पनि दू्रत गतिमा काम हुन नसक्दा ओभरहेड टयाङ्क मात्रै हेरिरहने हो कि पानी पनि खाने भन्दै स्थानीय उपभोक्ता निराश हुन थालेका छन्। 

लहानको बथनाहा, तिलेबोना, करैयाका स्थानीय खानेपानीको परियोजना आउँदा अति नै खुसी भएको प्रसङ्ग जोड्दै हरिदेव महतोले पाइप जडान र अन्य काम ठप्प भएपछि स्थानीय निराश भएको बताउनुभयो। लहान–२३ का वडाध्यक्ष बद्रीनारायण यादवले लहान नगरपालिकाको दक्षिणी भेगको अति सुगम र समथर वडामा खानेपानीको परियोजना सफल हुन गाह्रो भएपछि दुर्गममा झन् कसरी होला भन्दै  चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “चुनाव जितेलगत्तै पहल गर्ने खानेपानीका लागि वडावासीसँग गरेको प्रतिबद्धता पूरा गर्न नगर बोर्डमा उठाइरहेको छु।” नगरप्रमुख महेशप्रसाद चौधरीले जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र विकन परियोजनासँग समन्वय गरेर अघि बढाउने आश्वासन दिइरहनु भएको छ। 

उपभोक्ता समितिको अध्यक्ष कन्हैयाप्रसाद गुप्ताले परियोजना नियमित गर्नका लागि थप काम गर्न अझै एक करोडभन्दा बढी बजेटको आवश्यक रहेको बताउनुभयो। थप काम गर्न लहान नगरपालिका र अन्य सरोकारवाला निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। लहानको उत्तरी भेगका वडाहरू १३, १४ र १६ मा समेत खानेपानीको पाइप जडान, कर्मचारी व्यवस्थापनलगायतका कामहरू सुस्त गतिमा भइरहेकोले स्थानीयमा निराशा देखिएको छ।