• १६ चैत २०८०, शुक्रबार

गहिरिँदै वित्तीय घाटा

blog

काठमाडौँ, चैत २ गते । राजस्व सङ्कलन खुम्चिँदा मुलुकको वित्तीय घाटा फराकिलो बन्दै गएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुन मसान्तसम्म सरकारको कुल आम्दानीको तुलनामा डेढ खर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । 

फागुनसम्म सरकारले सबै शीर्षकमा छ खर्ब २२ अर्ब ७८ करोड रुपियाँ आम्दानी गरेको छ । यस अवधिमा सरकारले पाँच खर्ब ८२ अर्ब ७७ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । राजस्वअन्तर्गत कर राजस्वबापत पाँच खर्ब २६ अर्ब ४७ करोड रुपियाँ सङ्कलन भएको छ भने ५६ अर्ब २९ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ । 

राजस्वबाहेक समीक्षा अवधिसम्म सरकारले चार अर्ब ८० करोड रुपियाँ अनुदान प्राप्त गरेको छ । यसबाहेक अन्य प्राप्तिअन्तर्गत ३५ अर्ब २० करोड रुपियाँ सरकारको खातामा जम्मा भएको छ । हालसम्म सरकारको खातामा जम्मा भएको आम्दानी चालू आर्थिक वर्षको सुरु लक्ष्यको तुलनामा ४२ दशमलव ७ प्रतिशत हुन आउँछ । चालू आर्थिक वर्षमा ऋणबाहेक सरकारले १४ खर्ब ५८ अर्ब रुपियाँ आम्दानी गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । 

समीक्षा अवधिमा सरकारले प्राप्त गरेको कुल आम्दानी गत आर्थिक वर्षको तुलनामा एक खर्ब १३ अर्ब ८४ करोड रुपियाँले कम हो । गत वर्ष फागुनसम्म सरकारले सात खर्ब ३६ अर्ब २८ करोड रुपियाँ आम्दानी गरेको थियो । गत वर्षको फागुनसम्मको तुलनामा चालू आर्थिक वर्षको फागुनसम्ममा राजस्व परिचालन पनि एक खर्ब रुपियाँले घटेको छ । गत फागुनमा सरकारले छ खर्ब ८४ अर्ब ६९ करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो । 

यस वर्षको वैशाखदेखि १० वटा वस्तु आयातमा लगाइएको प्रतिबन्धका कारण सरकारको भन्सार आयात सङ्कुचित भएको छ । कुल राजस्वमा ४० प्रतिशतभन्दा बढी योगदान रहेको भन्सार राजस्व नै खुम्चिएपछि सरकारको राजस्व आम्दानी घटेको छ । यसबाहेक सुस्त आर्थिक गतिविधि, मागको कमी तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण पनि अर्थतन्त्र विस्तार हुन नसक्दा राजस्व प्रभावित भएको सरकारी अधिकारीले जनाउँदै आएका छन् । राजस्व सङ्कलन घट्ने देखेपछि सरकारले चालू आर्थिक वर्षको बजेटको आकार नै करिब साढे खर्ब रुपियाँले घटाएको छ । 

खर्च आठ खर्ब नजिक

फागुन मसान्तसम्म सरकारले सात खर्ब ७९ अर्ब रुपियाँ खर्च गरेको छ, जुन कुल आम्दानीभन्दा एक खर्ब ५६ अर्ब ४५ करोड रुपियाँले बढी हो । कुल खर्चमध्ये चालू खर्चतर्फ छ खर्ब आठ अर्ब ८४ करोड रुपियाँ खर्च भएको छ । सरकारको कुल प्राप्ति र चालू खर्चको अन्तर केवल १३ अर्ब ९४ करोड रुपियाँ हुन आउँछ । सुरु लक्ष्यको तुलनामा फागुनसम्मको चालू खर्च ५१ दशमलव ४६ प्रतिशत भएको छ । 

पुँजीगत खर्च शीर्षकअन्तर्गत फागुनसम्म ८४ अर्ब २५ करोड रुपियाँ खर्च भएको छ । यो सुरु लक्ष्यको तुलनामा २२ दशमलव १५ प्रतिशत मात्र हुन्छ । त्यस्तै वित्तीयतर्फ सरकारले ८६ अर्ब १२ करोड रुपियाँ खर्च गरेको छ । यो सुरु लक्ष्यको तुलनामा ३७ दशमलव ४१ प्रतिशत हो । 

भन्सार र आन्तरिक राजस्व दुवै घट्यो 

चालू आर्थिक वर्षको सरकारको राजस्व घट्नुमा भन्सारको राजस्व प्रमुख कारण देखिएको छ । गत फागुनको तुलनामा यस वर्ष एक खर्ब रुपियाँले भन्सार राजस्व घट्दा सरकारको आम्दानी नै प्रभावित भएको छ । भन्सार विभागका अनुसार फागुनसम्म दुई खर्ब ५० अर्ब रुपियाँ भन्सार राजस्व सङ्कलन भएको छ । जब कि गत फागुनमा तीन खर्ब ५० अर्ब रुपियाँ भन्सार राजस्व सङ्कलन भएको थियो । विभागले यस वर्ष फागुनसम्म तीन खर्ब ७७ अर्ब रुपियाँ भन्सार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । 

आन्तरिक राजस्व पनि लक्ष्यको तुलनामा करिब ७२ अर्ब रुपियाँले कम उठेको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुनसम्म तीन खर्ब ५३ अर्ब ९१ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा फागुनसम्म दुई खर्ब ८१ अर्ब ९९ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । गत फागुनसम्मको तुलनामा भने समीक्षा अवधिसम्मको सङ्कलनमा धेरै अन्तर देखिँदैन । गत फागुनसम्म विभागले दुई खर्ब ८५ अर्ब १२ करोड रुपियाँ सङ्कलन गरेको थियो ।