• १३ मंसिर २०८१, बिहिबार

बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

blog

दोलखा समाचारदाता 

दोलखा, चैत २ गते । दोलखाको भीमेश्वर नगरपालिका–६ मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु भएको छ। 

सङ्ग्रहालय तथा पार्कसमेतको विस्तृत परियोजना प्रतिवेदन तयार भएकाले पहिलो चरणमा गुम्बा र पद्मसम्भव (लामा भाषामा घुरु रेम्बोचे)को मूर्ति निर्माण थालनी भएको वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो। 

उहाँका अनुसार बागमती प्रदेशको १५ लाख रुपियाँ र नगरपालिकाको १५ लाख रुपियाँमा मूर्ति निर्माण सुरु भएको हो। पोखरीसहितको १४ फिटे पिल्लरमा १६ फिट अग्लो मूर्ति निर्माण हुनेछ। पिल्लरका चारैतिर कमलको पूmल अङ्कित गरिनेछ। मूर्तिको पछिल्लो भागमा विभिन्न मन्त्र राखिनेछन्। 

नगरपालिकाका प्राविधिक प्रमुख सुरेश राउतले भन्नुभयो, “तीन लाख १५ हजार लिटर पानी अट्ने गोलो पोखरी र गोलो पर्खालको चारैतिर नीलो रङको टायल राख्नुका साथै पोखरीका चारैतिर बार लगाइनेछ। पोखरी नजिकै गुम्बा भवनको निर्माण सुरु भएको छ। साढे दुईतले गुम्बाका संरचना राखिने र आवासको पनि व्यवस्था मिलाइने भएको छ। 

दोलखामा रहेका १२ आदिवासी जातिको संस्कार, संस्कृति झल्कने किसिमको सङ्ग्रहालय एकै स्थानमा निर्माण गर्न लागिएको छ। दोलखा उद्गम थलो भएका थामी, जिरेल, सुरेल र तामाङ, शेर्पा, श्रेष्ठ, सुनुवार, गुरुङ, माझी, भुजेल, मगर, कुमाल गरी कुल १२ आदिवासी जनजातिको यहाँ बसोबास छ। ती समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार, वेशभूषालगायतको अस्तित्व जोगाउन यो सङ्ग्र्रहालय निर्माण हुन लागेको हो। 

यहाँ आदिवासी जनजातिका पुरातात्त्विक महत्त्व झल्कने किसिमका १२ वटै भवन निर्माण भएपछि यसमा साङ्केतित वस्तु राखिने र बृहत् हेर्न चाहनेलाई तत्–तत् स्थानमा गएर अवलोकन गर्न आग्रहको लेखन लेखिने उहाँले स्पष्ट पार्नुभयो। 

यी भवनलाई सङ्ग्रहालयको रूपमा परिणत गरिनेछ । भवनमा १२ आदिवासी जनजाति समुदायको लोपोन्मुख इतिहास, संस्कार, संस्कृति, वेशभूषालाई राखिने वडाध्यक्ष लामाले जानकारी दिनुभयो। ४२ रोपनी जग्गामा निर्माण हुने यो सङ्ग्रहालयको लगानी करिब १२ करोड रुपियाँ रहेको उहाँले बताउनुभयो।