सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, चैत २ गते । जिल्ला विपत् व्यवस्थापन समिति, सिन्धुपाल्चोकले जुरे पहिरो पीडितहरूलाई जनस्तरबाट सङ्कलित रकम नगदै वितरण गर्न आग्रह गर्ने निर्णय गरेको छ।
वि.सं. २०७१ साउन १७ गते राति बलेफी गाउँपालिकाको इटिनी पहाडै खसेर जुरे, डयामसाइड, कागुने, भीरकुना, दावीलगायतका गाउँ पुरेको थियो। यहाँ बसेको सर्वपक्षीय बैठकले गृह मन्त्रालयलाई नगदै वितरण गर्न आग्रह गर्ने निर्णय गरेको हो।
जुरे पहिरोबाट जनधन गुमाउने परिवारलाई सहयोगका लागि दुई करोड चौबीस लाख छयसट्ठी हजार ६५७ रुपियाँ पचास पैसा जनस्तरबाट सङ्कलन भएको थियो। मन्त्रिपरिषद्को २०७९ असार ३१ गतेको निर्णयले जुरेपीडित समुदायले छनोट गरेको सामुदायिक विकास तथा पूर्वाधार कार्यक्रम आयोजनामा लगानी गर्ने गरी परियोजना विकास गर्ने र उक्त परियोजना जिल्ला विपत् व्यवस्थापन समितिले सम्बन्धित स्थानीय तहको समन्वयमा सञ्चालन गर्न कोषमा जम्मा भएको रकम लगानी गर्न स्वीकृति दिने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयपश्चात् जिल्ला विपत् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयबाट आयोजना छनोटका लागि सम्बन्धित पालिकाहरूसँग समन्वय गरिएको थियो। तर, पालिकाहरूले जनस्तरबाट सङ्कलित रकम पीडितलाई नगदै वितरण गर्दा बढी न्यायोचित हुने देखिएको बताएको थियो। पालिकाहरूको आग्रहअनुसार गृह मन्त्रालयमा नगदै वितरण गर्न निर्णयसहित आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नीराजन श्रेष्ठले जानकारी दिनुभयो।
उक्त पहिरोमा परी १४२ जनाले ज्यान गुमाएका थिए। प्रतिमृतक २० हजार रुपियाँका दरले मृतकको आश्रित वा कानुनी हकवालालाई दिइने र बाँकी रकम तत्कालीन राहत वितरण मापदण्डको प्रतिवेदनअनुसार प्रभावितले प्राप्त गरेको अङ्कका आधारमा वितरण गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको सहायक प्रजिअ श्रेष्ठले बताउनुभयो। विभिन्न आधार राखेर बनाइएको मापदण्डअनुसारको प्रतिवेदनले २८० परिवारलाई पहिरो प्रभावित मानेको छ। बलेफी गाउँपालिकाका ११६ परिवार प्रभावित सूचीमा छन्।
जुरे पहिरोबाट बलेफी गाउँपालिका–८ का स्थानीय, बाह्रबिसे नगरपालिका–९, राम्चे; त्रिपुरासुन्दरी गापा, धुस्कुनको दावीगाउँ, टेकानपुरमा जनधनको क्षति भएको थियो। पहिरोले सयका हारहारीमा घर पुरेको र दर्जनौँ घर डुबानमा पारेको थियो। बलेफी गापा–८ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले जुरे पहिरो पीडितलाई नगदै वितरण गर्ने निर्णयले न्याय मिलेको प्रतिक्रिया दिनुभयो।