• २१ पुस २०८१, आइतबार

दूधको उपभोक्ता मूल्य वृद्धि

blog

काठमाडौँ, चैत २ गते । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर ११ रुपियाँ बढाएको छ । डीडीसीले बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाएको हो ।  

यसअघि प्रतिलिटर ८६ रुपियाँ रहेको दूधको मूल्य प्रतिलिटर ९७ रुपियाँ पु-याइएको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले जानकारी दिनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटरमा ११ रुपियाँ मूल्य बढाउन सहमति दिएपछि सोहीअनुसार उपभोक्ता मूल्य वृद्धि गरिएको उहाँले जानकारी दिनुभयो । डीडीसीबाट वितरण हुने आधा लिटरको प्याकेटको ४८ रुपियाँ ५० पैसा कायम गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले फागुन १९ गते किसानले पाउने मूल्य प्रतिलिटर ५६ रुपियाँबाट वृद्धि गरेर ६५ रुपियाँ पु-याएको थियो । किसानले पाउने मूल्य बिहीबारदेखि लागू भएको डीडीसीले जनाएको छ । ४ प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस पदार्थ (एसएनफ) रहेको प्रतिलिटर दूधमा किसानले ६५ रुपियाँ पाउनेछन् । डीडीसीले दूधबाहेक अन्य दुुग्धजन्य पदार्थको मूल्य भने बढाएको छैन । 

यस्तै निजी डेरी उद्योगले एक साताअघिदेखि नै दूधको मूल्य बढाएका थिए । निजी डेरीले प्रतिलिटरमा १४ रुपियाँ बढाएर एक सय रुपियाँ प-याएका छन् । गत बिहीबार देशभरका निजी डेरीको संस्थाले दूधसँगै दुग्धजन्य पदार्थको मूल्य बढाएका छन् । निजी डेरीले पनिरको मूल्य प्रतिकेजी १४० रुपियाँले वृद्धि गरेका छन् भने घिउको मूल्य पनि लिटरमा दुई सय रुपियाँ बढेको राष्ट्रिय डेरी एसोसिएसनले जनाएको छ । यस्तै दहीको मूल्य लिटरमा २५ रुपियाँले बढेको छ ।

मूल्य वृद्धि गरिएसँगै निजी डेरीको प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर एक सय रुपियाँ पुगेको छ । यस्तै दहीको मूल्य एक लिटरको १९० रुपियाँ पुगेको छ ।