काठमाडौं, चैत १ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठकमा उपराष्ट्रपति निर्वाचन सम्बन्धमा छलफल हुँदैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा चैत ३ गते हुन गइरहेको उपराष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिनुभयो । मुख्य सचिव पौडेलले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “आजको बैठकमा उपराष्ट्रपति निर्वाचन सम्बन्धमा छलफल हुन्छ ।”
फागुन २५ गते राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भइसक्नुभएको छ । यसअघि राष्ट्रपति पौडेल तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित हुनुभएको थियो । उहाँले तनहुँ–१ को उपनिर्वाचन सम्बन्धमा पनि बैठकमा छलफल हुने बताउनुभयो ।