• १३ असोज २०८१, आइतबार

कास्की कारागारलाई बीस लाख

blog

कास्की समाचारदाता

कास्की, चैत  १ गते । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कास्की कारागारलाई २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहाथापाले कारागार तथा कैदीबन्दीको अवस्था सुधारका लागि उक्त रकम छुट्याएको बताउनुभयो। 

कारागारको भौतिक संरचना मर्मतसम्भार गर्न उक्त रकम विनियोजन गरिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “बजेटबाट कारागारको भौतिक संरचना मर्मतसम्भार र व्यवस्थापनमा खर्चिनुपर्नेछ। 

मन्त्री गाहामगरले उक्त बजेटबाहेक खेलकुदका सामग्री तथा लाइब्रेरीका लागि पुस्तक तथा त्रिपाल उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। सरकारले उपलब्ध गराउनुपर्ने सबै सामग्रीमा कमी हुन नदिने र आगामी दिनमा समेत सहयोगका लागि तत्पर रहेको बताउनुभएको थियो। 

यस्तै मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले कारागारका लागि सो बजेट यथेष्ट नहुने बताउनुभयो। “अहिले हाम्रो मन्त्रालयले २० लाख रुपियाँ छुट्याएको छ तर पनि पर्याप्त होइन। मन्त्रालयको उपस्थिति जनाउन खोजेका मात्र हौँ।” 

कास्की कारागार प्रमुख भीमराज कोइरालाले आवश्यक कच्चा पदार्थ मात्रै उपलब्ध भएको खण्डमा भौतिक पूर्वाधार निर्माणका लागि कैदीबन्दी नै सक्षम रहेको जानकारी दिनुभयो।

“यहाँ बनाउनुपर्ने जे काम भए पनि कच्चा पदार्थ र सामानको आवश्यकता हो। दक्ष जनशक्तिको यहाँ कमी छैन। जे भन्यो त्यही बन्छ तर सामान मात्रै चाहिएको अवस्था हो,” उहाँले भन्नुभयो।  

कास्की कारागारमा महिला कैदीबन्दीका लागि छुट्टै ब्लक र पुरुषका लागि ब्लक ‘ए’ र ब्लक ‘बी’ गरी दुईवटा भवन छन्। तीन भवन (कास्की कारागार)मा हाल ४५ महिला, छ जना आश्रित नाबालिका र ६९४ पुरुष गरी ७४५ कैदीबन्दी छन्।