• ११ असोज २०८१, शुक्रबार

तानसेनका अव्यवस्थित घरटहरा हटाइने

blog

पाल्पा दरबार परिसर । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, चैत १ गते ।
राणाकालदेखि पाल्पा दरबार परिसर क्षेत्रमा बनेका अव्यवस्थित संरचना (घरटहरा) हटाइने भएको छ । पाल्पा दरबार सङ्ग्रहालय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाइ पर्यटकीय स्थलको रूपमा विकासित गर्न त्यस क्षेत्रमा रहेका अव्यवस्थित घरटहरा हटाइने भएको हो ।

तानसेन नगरपालिकाले पुरातत्व विभागको निर्देशन, स्थानीय सरोकारवाला पक्षको सुझावका आधारमा दरबार परिसरमा रहेका ५७ वटा घरटहरा हटाउने निर्णय गरेको जनाएको छ । तानसेन बजार विस्तार गर्न २००२ सालदेखि बनेका अव्यवस्थित घरटहरा हटाउने निर्णय भएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । घरटहरा हटाएपछि त्यसक्षेत्रलाई जिल्लाकै नमूना पर्यटकीय स्थल बनाउन सकिने धारणा उहाँले राख्नुभयो ।

ऐतिहासिक नगरी तानसेनको मूलढोका, पाल्पा दरबार, भगवती स्थान वरपर रहेको अन्य संरचनालाई पनि क्रमशः हटाउने नगरपालिकाको योजना छ । नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले दरबार परिसरभित्र रहेका बालमन्दिर, विद्युत कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयलाई पनि हटाउने गरी योजना अघि बढेको जानकारी दिनुभयो । सूचना अधिकारी आचार्यले दरबार परिसरभित्र रहेको ६४ रोपनी जग्गामा बनेका संरचना हटाएर पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

तानसेन नगरपालिका–४ मातानसेन नगरपालिकाको आफ्नै नाममा रहेको १३ वटा घरटहरासहित, घरेलु शिल्पकलाको १३, रेडक्रसको तीन, कर्मचारी मिलन केन्द्रको तीन, बालसङ्गठनको एक घरटहरा छन् । नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले तत्कालित राणाकालमा तानसेन बजारका लागि वितरण भएको जग्गाका २४ टहरा समेत हटाउने निर्णय भएको जानकारी दिनुभयो ।

नगर कार्यपालिकाको बैठकले नगरपालिकासँग सटर वहालसम्बन्धी गरिएको सम्झौता रद्द गर्ने, अन्य सङ्घसंस्थावा सरकारी निकायलाई सटरमा रहेका वहालवालालाई हटाउन पत्राचार गर्ने समेत निर्णय गरेको छ । प्रवक्ता कार्कीले विश्व सम्पदा सूचीमा तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्राहलयलाई राख्ने योजनासहित बजेट विनियोजन तथा विकासको योजना अगाडि सारिएको बताउनुभयो ।

दरबार परिसर वरपरका बासिन्दाले भने घरटहरा हटाउँदा तानसेन बजारलाई असर गर्ने बताएका छन् । सुरूमा पाल्पा दरबार क्षेत्रलाई सङ्ग्रहालय बनाउने क्रममा पनि व्यापक बिरोध भएको थियो । हाल पाल्पा रबार सङ्ग्रहालयका रूपमा सञ्चालित छ ।

तानसेनका स्थानीय बासिन्दा एवम् गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले जिल्लाको पर्यटन क्षेत्रलाई माथि उठाउन यसले सहयोग पुगेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले सडकका घरटहरा हटाउँदा सडक फराकिलो हुने अपेक्षा गर्नुभएको छ भने बजारको चहलपहल र पर्यटकको आवागमन बढाउन थप सहयोग पुग्ने विश्वास लिनुभएको छ ।