• १३ मंसिर २०८१, बिहिबार

कृषि क्षेत्रमा सुधार आवश्यक

blog

काठमाडौँ, फागुन २९ गते । देशको आर्थिक अवस्था उठाउन कृषि र किसानको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताले बताउनुभएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औँ स्थापना दिवसका अवसरमा उहाँहरूले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताउनुभएको हो ।

कार्यक्रममा कृषि विकास बैङ्कका पूर्व अध्यक्ष श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पादनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारी संस्थाका सदस्य किसानलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

साना किसान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले संस्थाले साना किसान कृषि सहकारी संस्थामार्फत सदस्य किसानलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिँदै यस संस्थामा कुनै समस्या नरहेको दाबी गर्नुभयो । अहिले एक हजार ४५९ साझेदार साना किसान कृषि सहकारी संस्थामार्फत साना किसान विकास लघुवित्तले सेवा प्रवाह गरिरहेको जानकारी दिँदै उहाँले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिएजस्तो समस्या नरहेको बताउनुभयो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले ७६ जिल्लाका १० लाख ७९ हजारभन्दा बढी घरपरिवारमा पुगेको साना किसान कार्यक्रम नेपालको ग्रामीण अर्थतन्त्र सुधारमा एक सफल कार्यक्रम रहेको दाबी गर्नुभयो ।