नवीन शिशिर विक
बागलुङ, फागुन २९ गते । प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर घना जङ्गलको बीचमा छ। मध्यपहाडी लोकमार्गदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको मन्दिर पुग्न जङ्गलको बाटो भएर पैदल यात्रा गर्नुपर्छ। मन्दिरसम्म पुग्न जङ्गलको बीच भागबाट टायल ढुङ्गा बिछ्याएर आकर्षक र सहज पदमार्ग निर्माण गरिएको छ। बाटोको दुवैपट्टि तारबार गरेर व्यवस्थित छ। साल, सल्लाजस्ता ठूलाठूला रुखको घनाजङ्गल मन्दिरको अतिरिक्त प्रकृतिप्रेमीका लागि गन्तव्य स्थल हो। धार्मिक आस्था र विश्वासले कालिका मन्दिर यसै पनि चर्चित छ।
मौलिकता तथा पुरातात्त्विक झल्कने गरी निर्माण गरिएको मन्दिरका संरचना, विभिन्न प्रकारका देवीदेवताका मूर्ति तथा मन्दिरहरू, मन्दिर आसपासको करिब एक सय मिटरभित्र राखिएका सयौँ घण्टाले मन्दिरमा आकर्षण थपेको छ। कालिका मन्दिरमा परेवाको बलि निषेध गरेपछि सयौँको सङ्ख्यामा परेवा देख्न सकिन्छ। मन्दिर परिसरमा पुग्दा भर्ररर उड्ने परेवा देखेर भक्तजन मोहित हुन्छन्।
पहिलो पटक मन्दिर पुग्ने भक्तजन परेवाको उडानमा आफ्नो सेल्फी खेचेर रमाउँछन्। फोटो खिच्न इच्छा राख्न, मन्दिरमा परेवा भएको जानकारी पाएका भक्तजन घरबाटै चारो लगेर चारो खुवाउँदै गरेका फोटा खिच्ने, टिकटक बनाएर समय बिताउँछन्। मन्दिरमा आफूलाई भुलाउँछन्।
घनाजङ्गलको बीचमा रहेको मन्दिरलाई थप आकर्षण थप्ने काम जङ्गली कालिजले गरेका छन्। मन्दिर प्रवेशको मुख्यद्वार पार गरेपछि बाटो आसपासको क्षेत्रमा बेलाबेलामा कालिज देख्न सकिन्छ। बिहान र साँझपख कालिजहरू समूहमा चारो खोज्दै गरेको अवस्थामा देख्न सकिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो। एकपट्टिका कालिज अर्काेपट्टि जाँदा उडेर जाने हुँदा त्यो क्षण निकै आकर्षक देखिने उहाँको भनाइ छ।
कालिजहरू परेवालाई हालेको चारो खान मन्दिर परिसर पुग्छन्। भक्तजनले कालिजका लागि बाटो आसपासमा पनि चारो हाल्ने गरेका छन्। १९० रोपनी क्षेत्रफलमा जङ्गल फैलिएको छ। सो जङ्गलमा चितुवा, मृग, कालिज, खरायो, बाँदरजस्ता जङ्गली जनावर तथा पन्छी पाइन्छन्। गुठीले व्यवस्थित खोर बनाएर मृग पाल्दै आएको छ। कुनै पनि जङ्गली जनावर तथा पन्छीको हत्या गर्न यहाँ निषेध छ।
मन्दिरको जङ्गल क्षेत्रलाई व्यवस्थित गर्न सके जङ्गल सफारीका रूपमा विकास गर्न सकिने अध्यक्ष खड्काको भनाइ छ। “बाटोमा काजिल देख्दा भक्तजन खुसी भएको देखिन्छ,” अध्यक्ष
खड्काले भन्नुभयो, “यो जङ्गल क्षेत्रलाई व्यवस्थित गरे वन्यजन्तु अवलोकनको क्षेत्र बनाउन सकिन्छ।”