• १६ चैत २०८०, शुक्रबार

नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकप छनोट खेलबाट दुई खेल टाढा

blog

युएईको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, फागुन २८ गते । नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो । 

जितसँगै तालिकाको चौथो स्थानमा उक्लिएको नेपाल अब विश्वकप छनोट खेलबाट दुई खेल मात्र टाढा छ । नेपालको यो एकदिवसीयमा सर्वाधिक ठूलो रनको कीर्तिमानी जित हो । युएईको भने एकदिवसीयमा इतिहासकै कम योगफल हो । 


नेपाललाई विश्वकपमा छनोट हुन अब लिग–२ को अन्तिम तथा पपुवा न्युगिनी (पीएनजी) र युएईविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । नेपालले घरेलु मैदानमा तेस्रो खेल सोमबार पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । 


जितका लागि दुई सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा सबै विकेटको क्षतिमा ७१ रनमा समेटिएको थियो । युएईका लागि आयान अफ्जल खानले २९ रन बनाउनुभयो । आस्वान्त भाल्टथापाले १४ र कार्तिक मेईयापानले ११ रन बनाउनुभयो । 

बलिङमा नेपालका ललित राजवंशीले पाँच विकेट लिनुभयो । सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले एक एक विकेट लिनुभयो । 


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले सय १२ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । उहाँ ‘प्लेयर अफ दि म्याच’ हुनुभयो । 

यस्तै आरिफ शेखले ४३, दीपेन्द्र सिंह ऐरीले ३४, गुलशन झाले ३७ र भीम सार्कीले २९ रन बनाउनुभयो । बलिङमा युएईका आयन अफ्जल खान, जावर फरिद, रोहन मुस्ताफा र जोहोर खानले दुई दुई विकेट लिनुभयो ।

आर्यान लाक्रा र जुनेद सिद्धिकीले एक एक विकेट लिनुभयो । लिग–२ कै अन्तिम सिरिजको रूपमा रहेको यस प्रतियोगितामा विश्वकपमा पुग्न नेपाललाई सबै खेल महत्त्वपूर्ण रहेको छ । नेपाललाई विश्वकप छनोटमा स्थान बनाउन दुई खेल जित्नुपर्नेछ l


नेपाल, युएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित यस सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो । विश्वकप छनोटबाट बाहिरिएको युएईले नेपालसँगको हारसँगै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि गुमाएको छ ।

युएईलाई एकदिवसीय मान्यता कायम राख्न नेपाललाई आज हराउनै पर्ने बाध्यता थियो । जितसँगै ३४ खेलबाट ३६ अङ्क बनाएको नेपाल चौथो स्थानमा उक्लिएको छ । युएई ३४ खेलबाट ३१ अङ्क जोड्दै छैटौँ स्थानमा छ । पीएनजी ३४ खेलबाट ११ अङ्कसहित तालिकाको अन्तिममा छ । 

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा झरेको छ ।

आइतबार नेपालले युएईलाई हराएपछि अमेरिका पाँचाैँ स्थानमा झरेको हो । नेपालको लगातार जितले तेस्रो स्थानमा रहेको नामिबियालाई झस्काएको छ । 

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले आगमी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । लिग-२ मा सहभागी टोलीलाई एकदिवसीय मान्यता कायम राख्न कम्तीमा पाँचौँ स्थानमा रहनुपर्ने हुन्छ ।