• २६ जेठ २०८२, सोमबार

‘पराक्रम बालप्रतिभा पुरस्कार’ फुयाँल र राईलाई प्रदान

blog

एलिशा फुयाल र योगेश राईलाई ‘पराक्रम बालप्रतिभा पुरस्कार’ प्रदान ।

काठमाडौं, फागुन २८ गते । ‘पराक्रम बालप्रतिभा पुरस्कार’ एलिशा फुयाँल र योगेश राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कार २०७८ का लागि दोलखाकी इलिशा फुयाँललाई र २०७९ का लागि खोटाङका योगेश राईलाई प्रदान गरिएको हो ।

साहित्यसेवी रमा अधिकारी तथा महेश पौड्यालले आफ्ना दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको ‘पराक्रम बालप्रतिभा पुरस्कार’ एक समारोहका बीच उहाँहरूलाई प्रदान गरिएको हो ।

पुरस्कृत दुई बालप्रतिभालाई जनही १५ हजार रुपियाँ नगद राशिसहित प्रमाणपत्र तथा बालसाहित्यका पुस्तकहरू प्रदान गरिएको छ । विगत चार वर्षदेखि प्रदान गरिँदै आएको यो पुरस्कारको राशि ११ हजार रुपियाँ रहेकोमा यसै वर्षदेखि १५ हजार रुपियाँ पुर्‍याइएको हो ।

दृष्टिविहीन भएर पनि अध्ययनका साथै कला, साहित्य–सिर्जना र सङ्गीतमा पोख्त भएका कारण ०७८ र ०७९ को पराक्रम बालप्रतिभा पुरस्कार फुयाँल र राईलाई प्रदान गरिएको पर्वतीय साहित्य समाजकी सदस्यसचिव भवानी खतिवडाले जानकारी दिनुभयो ।

नयाँ ठिमीस्थित पुरस्कृत फुयाँल र राई  अध्ययनरत आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित कार्यक्रममा पर्वतीय साहित्य समाजका अध्यक्ष प्रतीक ढकाल, समाजकी सचिव भवानी खतिवडा, बालसाहित्य नेपालका अध्यक्ष कार्तिकेय घिमिरे, कविहरू निरज दाहाल, ईश्वर थोकर, राजु उबरकोटीलगायत विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति  थियो । 

विद्यालयकी शिक्षिका डा. सीता सुवेदीले सञ्चालन गरेको छोटोमिठो समारोहमा स्व. पराक्रम पौड्यालका बुबासमेत रहेका साहित्यकार महेश पौड्यालले पुरस्कारका विषयमा प्रकाश पारेका थिए । त्यस्तै, कार्यक्रममा प्रतीक ढकालले पर्वतीय साहित्य समाजको उद्देश्यमाथि प्रकाश पर्दै पर्वतीयको महिमा र पर्वतीय साहित्यको महत्त्व विद्यार्थीहरूलाई सुनाएका थिए ।

कविसमेत रहेका विद्यालयका प्राचार्य बुद्धिकुमार घोले कार्यक्रमको समापन गर्दै पुरस्कार कोषकी संरक्षक रमा पौड्याल, महेश्य पौड्याल, पर्वतीय साहित्य समाजका साथै सम्पूर्णमा हार्दिकता व्यक्त गरेका थिए ।

यसअघि यो पुरस्कार आंशिक मस्तिष्क पक्षाघात भएका तर नाकले लेख्न सक्ने दोलखाका कवि प्रतिभा दर्शन केसीलाई, प्रतिकूल आर्थिक अवस्था भएको परिवारबाट आएर पनि जिल्लाभरि वक्तृत्वकलामा अब्बल प्रतिभा देखाउँदै आएकी काभ्रे पाँचखालकी छात्रा तारा तामाङलाई तथा पछाडि परेको चेपाङ समुदायमा गायन प्रतिभाका लागि अब्बल मानिएका प्रेम चेपाङलाई प्रदान गरिएको थियो ।