मीना कँडेल
कावासोती, फागुन २८ गते । विश्वकै दुर्लभ डङ्गर प्रजातिका गिद्धलाई प्राकृतिक वासस्थानमा छाडिएको छ । गिद्ध लोप हुनबाट बचाउने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा कोरलिएका र त्यहाँ हुर्काइएका १० वटा डङ्गर गिद्धलाई कावासोतीको पिठौलीमा रहेको (रिलिज एभिएरीबाट) प्राकृतिक वासस्थानमा छाडिएको हो ।
प्राकृतिक वासस्थानमा छाडिएको गिद्धको अवस्थाको बारेमा बुझ्न उनीहरुको शरीरमा ट्याग, जिपिएस ट्रयाकर जडान गरिएको छ । गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा यी गिद्धलाई ४ महिनाअघि पिठौलीमा रहेको (रिलिज एभिएरीमा) राखी प्राकृतिक वासस्थान र जङ्गली गिद्धसँगै घुलमिल गराइ प्राकृतिक वासस्थानमै छाडिएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डी.बी. चौधरीले बताउनुभयो ।
जङ्गलमा छाडिएका गिद्धको गणना गर्न ढाड र खुट्टामा सेटलाइट ट्याग लगाएर छाडिएको संरक्षण विज्ञ डी.बी. चौधरीले बताउनुभयो । "खुट्टामा नम्बर ट्याग र ढाडमा सेटलाइट ट्याग लगाइएको छ", उहाँले भन्नुभयो, "यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक मनिटरिङ गरिन्छ । कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ६९ गिद्धलाई अहिलेसम्म जङ्गलमा छाडिसकिएको छ ।"
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको गिद्ध पुनःस्थापना कार्ययोजना २०१६–२०१९ अनुसार चितवनको गिद्ध प्रजनन केन्द्रमा जन्माइएको र हुर्काइएको लोपाेन्मुख डङ्गर प्रजातिका गिद्ध पिठौलीको जटायु रेष्टुरेष्टमा विगतका वर्षहरुदेखि नै छाडिने गरिएको हो । २०६३ मा स्थानीय समुदायको सक्रियतामा पूर्वी नवलपुरको कावासोती पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको गिद्ध रेष्टुरेन्ट खोलेर गिद्धलाई शुद्ध आहार उपलब्ध गराइ संरक्षण गदै आएको छ । एक दशकअघि नेपालमा गिद्धको सङ्ख्या एक लाख ५० हजार रहेको भएपनि पछिल्लो समयमा गिद्धको सङ्ख्या घट्दो छ ।
नेपालमा सेतो गिद्ध, हाडफोर, सानो खैरो गिद्ध, डङ्गर गिद्ध, खैरो गिद्ध, हिमाली गिद्ध, सुन गिद्ध र राज गरी नौ प्रजातिका गिद्ध छन् । जङ्गली ४० गिद्ध समातेर सेटलाइट ट्याग लगाएर जङ्गलमै छाडिएको छ । लोपोन्मुख गिद्ध संरक्षणको अभियानस्वरुप नेपालमा हाल नौ प्रजातिका गिद्ध पाइन्छ । नेपालमा पाइने गिद्धमध्ये जटायु रेष्टुरेन्ट पिठौलीमा आठ प्रजातिको गिद्धको वासस्थान छ । नेपालभर करिब १५ हजारको सङ्ख्यामा गिद्ध रहेको अनुमान गरिन्छ ।
गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य लगायतसंरक्षण क्षेत्रमा लागेका दातृ निकायका प्रतिनिधि र संरक्षणकर्मीको उपस्थितिमा ती गिद्ध प्रकृतिमा छाडिएको हो ।