• १२ मंसिर २०८१, बुधबार

निःशुल्क स्वास्थ्य बीमा

blog

सुर्खेत समाचारदाता

सुर्खेत, फागुन २८ गते । वीरेन्द्रनगर नगरपालिकाले पालिकाभित्रका अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। शुक्रबार औपचारिक रूपमा नगरभित्रका अति विपन्न नगरवासीको निःशुल्क स्वास्थ्य बीमा थालिएको हो। 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक सिर्जना पौडेलले निःशुल्क स्वास्थ्य बीमाको सम्झौता गर्दै चार जना अति विपन्नलाई बीमा कार्डसमेत उपलब्ध गराउनुभएको छ। 

वीरेन्द्रनगरका कमला बैगार गाइन, खगेन्द्रप्रसाद शर्मा, तुलसीकुमारी ढकाल र वीरबहादुर नेपालीलाई निःशुल्क स्वास्थ्य बीमाको कार्ड वितरण गरिएको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वडावडाबाट पहिचान गरेर आएका अति विपन्नलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिँदा तिनीहरूको उपचार सहज हुने बताउनुभयो। उहाँले रकम हुनेले पनि बीमा गर्ने र नहुनेले अति विपन्नको पहिचान गरी नगरले नै बीमा गरिदिने व्यवस्था मिलाइएको जनाउनुभयो। 

यस वर्ष नगरपालिकामा स्वास्थ्य बीमाका लागि १० लाख रुपियाँ बजेट विनियोजन भएको छ। नगर स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष करिब आठ सय जना विपन्नको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना रहेको बताउनुभयो। चार वर्षका लागि अहिले गरिएको सम्झौताअनुसार बिहीबारसम्म ११९ जना सम्पर्कमा आएको जनाइएको छ। अति विपन्न पहिचान गरेपछि वडामा रहेका दर्ता सहजकर्ता घरमै पुगेर बीमा गरिने उहाँले जनाउनुभयो। 

प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक सिर्जना पौडेलले कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिकाले विपन्नको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाएकामा धन्यवाद दिनुभयो। 

उहाँले बीमामा सुर्खेतको आबद्धता १९ प्रतिशत मात्रै भएको हुँदा धेरैभन्दा धेरैलाई स्वास्थ्य बीमामा जोड्न पहल गर्न सुझाव दिनुभयो। उहाँका अनुसार वीरेन्द्रनगरको जनसङ्ख्या एक लाखभन्दा बढी भएकोमा बीमामा आबद्धको सङ्ख्या ३७ हजारभन्दा बढी छ। अझै पनि धेरैलाई बीमामा आबद्ध हुन पहल गरिदिनुपर्ने उहाँको भनाइ छ। 

पाँच जनाको परिवारले वार्षिक ३५ सय रुपियाँ तिरेपछि एक वर्षसम्मलाई एक लाख रुपियाँसम्मको उपचार सेवा पाउनेछन्। यस्तै पाँच जनाभन्दा माथिको परिवार भएमा प्रतिव्यक्ति सात सय रुपियाँ थप हुनेछ भने उनीहरूले थप २० हजार बराबरको उपचार सेवा पाउनेछन्। 

नगर उपप्रमुख नीलकण्ठ खनाल, निमित्त प्रशासकीय अधिकृत धीरेन्द्रप्रसाद शर्माले वडाबाट आएका अति विपन्नलाई कार्ड उपलब्ध गराई उनीहरूलाई बीमामा जोडिने बताउनुभयो। यो कार्यक्रम नगरका १६ वटै वडामा लागू भएको छ।