विजयकुमार साह
ढल्केबर, फागुन २८ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको वारुण यन्त्र मर्मत नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको छ। नगरपालिकामा वारुण यन्त्र भए पनि मर्मत नहुँदा प्रयोगविहीन बनेको हो। यसले गर्दा यहाँ हुने विभिन्न आगलागी नियन्त्रणमा समस्या हुँदै आएको छ।
मधेश प्रदेश सरकारले दुई वर्षअघि उक्त वारुण यन्त्र क्षीरेश्वरनाथ नगरपालिकालाई उपलब्ध गराएको थियो। सञ्चालनमा आएको केही महिनामै वारुण यन्त्र बिग्रिएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको कार्यालय अगाडि थन्काइएको छ। वारुण यन्त्र चलाउने चालकसहित प्राविधिक नभएको बताइएको छ। करारमा काम गर्दै आएका चालक र प्राविधिकलाई वर्तमान नगरप्रमुख सुखदेव यादवले कामबाट निकालेपछि वारुण यन्त्र चलाउने चालक र प्राविधिक नभएको स्थानीयको भनाइ छ।
दुई दिनअघि महेन्द्रनगरको कृष्णा फर्निचर उद्योगमा आगलागी हुँदा नगरपालिकाको कार्यालय अगाडि राखिएको वारुण यन्त्र प्रयोगमा आएन। जसले गर्दा फर्निचर उद्योगमा भएका सबै सामान जलेर नष्ट भयो। त्यसअघि पनि महेन्द्रनगर बजारमा सञ्जीव चौधरीको किराना पसल र हीरा इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ठूलो मात्रामा मालसामान जलेर नष्ट भएको थियो।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले शुक्रबार नगरप्रमुख सुखदेव यादवलाई ज्ञापनपत्रसमेत बुझाउनुभएको थियो। “आगलागीका बेला अरू नगरपालिकाबाट वारुण यन्त्र बोलाउँदा समय लाग्छ। त्यतिबेलासम्म सबै जलिसकेको हुन्छ,” अध्यक्ष यादवको भनाइ छ।
यसरी पटक–पटक नगर क्षेत्रभित्र आगलागीबाट उद्योगी व्यवसायीको ठूलो परिमाणमा क्षति भइरहेकाले आकस्मिक सेवाका साधन स्रोत अविलम्ब सञ्चालनमा ल्याउन र आगलागीबाट भएको क्षतिपूर्तिसमेत उपलब्ध गराउन नगरप्रमुखलाई भनिएको अध्यक्ष यादवले बताउनुभयो। नगरप्रमुख सुखदेवले वारुण यन्त्र र एम्बुलेन्स मर्मतका लागि एक–दुई दिनमै पठाउने बताउनुभयो। उहाँले नगरपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत कन्हैयाकुमार मिश्र लामो समयदेखि बिदामा रहेकाले मर्मत कार्य रोकिएको जानकारी दिनुभयो।