• ९ पुस २०८१, मङ्गलबार

छ वर्षमा पनि निर्माण भएन बसपार्क

blog

बोदेबरसाइन समाचारदाता 

बोदेबरसाइन (सप्तरी), फागुन २८ गते । ठेक्का सम्झौताको झन्डै छ वर्ष बित्न लाग्दा पनि राजविराज बसपार्कको निर्माण पूरा हुन सकेको छैन। वर्षौँदेखि व्यवस्थित बसपार्क निर्माण हुन नसक्दा नगरवासीले मार खेप्दै आएका छन्। 

नगरमा ट्राफिक जाम, जताततै पार्किङ, सडकको दुरवस्था, सवारीको चापजस्ता समस्या झेल्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कार्कीले गुनासो गर्नुभयो। बसपार्क निर्माणको कामलाई तीव्र रूपमा अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्देशन दिनुभएको छ। 

बसपार्कको निर्माणका लागि २०७४ साल पुस १६ गते भ्याटबाहेक १६ करोड ३८ लाख ९३ हजार ५१९ रुपियाँमा काठमाडाैँको सिनर्जी बिल्डिङ प्रालिलाई ठेक्का दिइएको थियो। तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। ठेक्का कम्पनीलाई मन्त्रिपरिषद्ले पुनः म्याद थप गरेको भए पनि काम सम्पन्न गर्न सकेन। थप गरिएको म्याद गत असारमै सकिएको छ। ठेक्का कम्पनीले सुस्त गतिमा काम गरिरहेको थापाले बताउनुभयो। सघन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका बसपार्क साइट हेर्ने इन्जिनियर राजकुमार मिश्रले आउने वैशाखभित्रै बसपार्क सञ्चालनमा ल्याइसक्ने बताउनुभयो। 

अधुरा आयोजनाको अनुगमन 

राजविराज बसपार्कको कार्यप्रगतिसहित जिल्लाका निर्माणाधीन अधुरो आयोजनाको अनुगमन गरिएको छ। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा राजविराज नगरपालिका कार्यवाहक नगरप्रमुख इसरत प्रवीण, प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीलगायतले अनगुमन गर्नुभएको हो। 

राजविराज नगरभित्र डेढ वर्षदेखि कामै नगरी अलपत्र पारिएका एक दर्जन शाखा सडकको अवस्थाबारे अनुगमन गरिएको छ। त्यस्तै जिल्लाकै ठूलो योजनामध्ये काममा ढिलाइ भइरहेका राजविराज हटिया, बसपार्क, हुलाकी सडकको कार्यप्रगतिबारे समेत जानकारी लिएको प्रजिअ थापाले बताउनुभएको छ। ठेक्का सम्झौताको झण्डै छ वर्ष बित्न लाग्दा निर्माण पूरा हुन नसकेका बसपार्क, हटिया, रूपनी–राजविराज सडकखण्ड निर्माण कार्य प्रगतिसम्बन्धित निर्माण कम्पनीहरूबाट समेत जानकारी लिइएको कार्यवाहक नगरप्रमुख परवीनले जानकारी दिनुभयो।