• १३ साउन २०८१, आइतबार

उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

blog

अष्टलक्ष्मी शाक्य, रामसहाय प्रसाद यादव, प्रमीलाकुमारी यादव र ममता झाद्वारा उम्मेदवारी दर्ता ।

काठमाडौं, फागुन २७ गते । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर नेकपा (एमाले) बाट एक जना, जनता समाजवादी पार्टी (जसपा)बाट दुई जना र जनमत पार्टीबाट एक जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपराष्ट्रपति पदका लागि एमालेका नेत्री अष्टलक्ष्मी शाक्य, जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव, जसपाका राष्ट्रिय सभा सदस्य प्रमीलाकुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।  

शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरू छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट हुनुहुन्छ । उहाँको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवती न्यौपाने र यशोदा रिजाल रहनुभएको छ ।

त्यस्तै, यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी हुनुहुन्छ भने भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी हुनुहुन्छ ।

यसैगरी, प्रमीलाको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव हुनुहुन्छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनिस सुमन हुनुहुन्छ ।

त्यस्तै, झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव हुनुहुन्छ भने समर्थकमा गोमा लाभ सापकोटा, विनीता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी हुनुहुन्छ ।

यता, निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिनुभएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित हुनुभएको उल्लेख गर्नुहुँदै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम) बाट उम्मेदवार हुनुपर्नेछ ।

यो पनि पढ्नुहोस

उपराष्ट्रपतिमा एमालेबाट शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपति पदमा झाको उम्मेदवारी