• १३ साउन २०८१, आइतबार

उपराष्ट्रपति पदमा झाको उम्मेदवारी

blog

जनमत पार्टीका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुहुँदै ममता झा । तस्बिर : रासस

काठमाडौं, फागुन २७ गते । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा जनमत पार्टीका शीर्षनेताहरुको उपस्थितिमा उहाँले उम्मेदवारी दिनुभएको हो । 

जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएकी झाको प्रस्तावकमा नेताहरू अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव हुनुहुन्छ । त्यस्तै समर्थकमा गोमा लाभ सापकोटा, विनीताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी हुनुहुन्छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनले आइतबारसम्म साझा  उम्मेदवार बनाउने विश्वास व्यक्त गर्नुभयो । सहमति नभएको खण्डमा मित्रवत् प्रतिस्पर्धा हुने उहाँको भनाइ थियो ।

त्यस्तै, उम्मेदवारी दर्ता गरेपछि झाले नेपालको संविधानको मर्मलाई जीवित राख्नका लागि आफूले जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिएको बताउनुभयो । सञ्चारकर्मीको एक प्रश्नको जवाफ दिँदै उहाँले आफूविरुद्ध कुनै पनि मुद्दा नरहेको उल्लेख गर्नुभयो ।