• १२ मंसिर २०८१, बुधबार

पूर्वाधारमा फड्को मार्दै डडेल्धुरा

blog

हिक्मतबहादुर सिंह/पुष्कर भण्डारी 

सुदूरपश्चिम प्रदेशको मध्यपहाडी जिल्ला डडेल्धुराको पूर्वमा डोटी र कैलाली जिल्ला, पश्चिममा नेपाल–भारतको सीमा नदी महाकाली, उत्तरमा बैतडी जिल्ला र दक्षिणमा कञ्चनपुर जिल्ला रहेको छ। एक लाख ५३ हजार आठ सय हेक्टर क्षेत्रफलको डडेल्धुरालाई एक लाख १४ हजार ७३६ हेक्टर अर्थात् ७५.८८ प्रतिशत वनजङ्गलले ढाकेको छ। 

डडेल्धुरामा कृषियोग्य जमिन ११ हजार ६१६.८ हेक्टर छ। यद्यपि, खेती गरिएको जमिन १० हजार ६६७.६ हेक्टर छ। कृषि ज्ञान केन्द्रद्वारा आर्थिक वर्ष २०७८/७९ मा प्रकाशित वार्षिक प्रगति तथा तथ्याङ्क पुस्तिकामा उल्लेख गरिएअनुसार चरन क्षेत्र तीन हजार ३९८ हेक्टर, अन्य बस्ती, खोला, नाला, बाटोको क्षेत्रफल २४ हजार ४९.२ हेक्टर, सिञ्चित क्षेत्रफल चार हजार ८९७ हेक्टर र असिञ्चित क्षेत्रफल पाँच हजार ७७०.६ हेक्टर रहेको छ। ५३८ दशमलव ९५ वर्ग किलोमिटर क्षेत्रफल रहेको डडेल्धुरा समुद्री सतहबाट ४३२ मिटरदेखि दुई हजार ६३९ मिटरसम्मको उचाइमा छ। उष्ण, समशीतोष्ण र शीतोष्ण हावापानी रहेको डडेल्धुराको औसत तापक्रम अधिकतम ३२ डिग्री सेन्टिग्रेट र न्यूनतम तीन डिग्री सेन्टिग्रेट रहेको छ । डडेल्धुरामा वार्षिक रूपमा औसत वर्षा एक हजार ३४३ मिलिमिटर हुने गरेको छ । 

एक मात्रै संसदीय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशतर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन्। दुई नगरपालिका र पाँचवटा गाउँपालिका गरी सातवटा स्थानीय तह छन्। २०७८ सालको मतगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार कुल जनसङ्ख्या एक लाख ३९ हजार ४२० रहेको छ। यसमा महिलाको सङ्ख्या ७३ हजार ४९० र पुरुषको सङ्ख्या ६५ हजार ९३० रहेको छ। जम्मा परिवार सङ्ख्या ३१ हजार ६०८ रहेको छ। 

डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गा हो। यो अमरगढी नगरपालिकामा पर्छ। डडेल्धुरा सुदूरपश्चिम प्रदेशका सात पहाडी र तराईका दुई जिल्लाको केन्द्रबिन्दुका रूपमा रहेको छ। पहाडी र तराईका जिल्ला जोड्ने एउटा मात्रै राजमार्ग महाकाली राजमार्ग डडेल्धुरा जिल्ला सदरमुकाम भएर जोडिएको छ। सो राजमार्ग डोटी जिल्लाको गैरबजारदेखि बैतडी जिल्लाको अनारखोली बजारसम्म ५१ किलोमिटर लम्बाइको छ। डडेल्धुराको स्याउले बजारदेखि डोटी, अछाम, बाजुरा जोड्ने सेती राजमार्ग रहेको छ। डडेल्धुराका ५२ वडा सबैमा कच्ची सडकको पहुँच पुगेको छ।

भित्री मधेश क्षेत्रसमेत रहेको डडेल्धुरामा डोटीको बुडरदेखि परशुराम नगरपालिका जोगबुडा जोड्ने सडक, जोगबुडादेखि कञ्चनपुरको दैजी जोड्ने सडक, जिल्ला सदरमुकाम बाघखोरदेखि भागेश्वरको रुपाल जोड्ने सडक, उग्रतारा मेलौली सडक र पोखरा–बेलापुर सडक मुख्य सडकका रूपमा राखिएका छन्। यी सबै सडकमा कालोपत्रे भइरहेको छ। जिल्ला सदरमुकामदेखि चिरकिट्टे, महाभारत पर्वत तेले लेक हुँदै जोगबुडा जोड्ने सडकलाई पनि मुख्य सडकका रूपमा लिइन्छ। हाल यो सडकको अमरगढी नगरपालिका–२, चिम्रिकोटदेखि घटालथानसम्म कालोपत्रे गर्ने काम भइरहेको छ। 

 बाइस सडक योजना

चालू आर्थिक वर्ष २०७९/८० मा डडेल्धुराका २२ वटा सडक निर्माण तथा मर्मतका लागि ९५ करोड रुपियाँ विनियोजन भएको छ। सबैभन्दा बढी जिल्ला सदरमुकाम क्षेत्र बागबजार–कीर्तिपुर सडक निर्माण र मुआब्जाका लागि ७२ करोड बजेट विनियोजन गरिएको छ। त्यसमा २० करोड मुआब्जा र ५२ करोड सडक निर्माणका लागि छुट्याइएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

सोही मन्त्रालयले सल्लाघारीबाट डकले हुँदै भात्काडा–बडाल जोड्ने सडक निर्माणका लागि पाँच करोड र बागबजारदेखि रुपाल जोड्ने सडकका लागि दुई करोड रुपियाँ बजेट विनियोजन गरेको छ। पोखरा–ढुङ्गाड सडक, बुडर–जोगबुडा, भात्काडा–रेल, जोगबुडा–रुपाल, पोखरा–बेलापुर, गैरा–गाङखेत, शीर्ष–परिगाउँ, कोइराली–पुइलेक, गाङखेत–आलिताल र साहुखर्क उणिकोट सडकका लागि एक/एक करोड रुपियाँ बजेट विनियोजन भएको छ। अनारखोली–चामागाउँ, बगरकोट–चिपुर र सल्लाघारी–आइत सडकका लागि पनि एक/एक करोड रुपियाँ बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । शीर्ष–गोगन, उग्रतारा–मेलौली, मालुझुल–देवल, अमरगढी–भागेश्वर, बगरकोट–रुपाल र डडेधुरा–पातिहाल्ने सडक निर्माणका लागि ५०/५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। 

हालसम्म डडेल्धुरामा उग्रतारा–मेलौलीको सडकको १० किलोमिटर सडक कालोपत्रे गरिएको छ। थप १० किलोमिटर कालोपत्रे गर्ने काम भइरहेको छ। यो सडकको ३४ करोड ५० लाख रुपियाँ लागत अनुमानमा ठेक्का सम्झौतामार्फत काम भइरहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ। हालसम्म १३ करोड ८० लाख रुपियाँभन्दा बढी रकम खर्च गरिएको यसको भौतिक प्रगति ६८ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय प्रमुख जगतप्रसाद जोशीले जानकारी दिनुभयो।

बागबजार–भागेश्वर सडकखण्डको सात किलोमिटर सडक कालोपत्रे गरिएको छ। थप १० किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको छ। बगरकोट–सिराड–रुपाल सडकको बिरादे–बगरकोट सडकखण्डमा ३० करोड ८९ लाख रुपियाँ लागत इस्टिमेटमा ठेक्का सम्झौता भएको थियो। हालसम्म १४ करोड १० लाख रकम खर्च भएको यस सडकको प्रगति ६० प्रतिशत पुगेको छ। डोटीको बुडरदेखि डडेल्धुराको भित्री मधेश जोड्ने बुडर–जोगबुडा लालढुङ्गा सडकको ३० किलोमिटर कालोपत्रे गर्ने काम भइरहेको छ। ५२ करोड रुपियाँको लागतमा सडक कालोपत्रे गर्ने काम भइरहेको छ । यही सडकअन्तर्गत जोगबुडा–लिप्ना सडकखण्ड कालोपत्रे गर्ने काम पूरा भएको छ । छ करोड २३ लाख ३८ हजार रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको हो। 

पोखरा–बेलापुर सडकखण्डअन्तर्गत पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ। आर्थिक वर्ष २०७६/७७ मै डडेल्धुराका तीनवटा सडकखण्डको ३२ किलोमिटर कालोपत्रे गर्ने कार्य सुरु भएको थियो। यस वर्ष गाईबाँधे–लिप्ना, उग्रतारा–मेलौली र पोखरा–बेलापुर–ढुङ्गाड सडक गरी ३२ किलोमिटर कालोपत्रे गर्ने कामको सुरुवात भएको थियो। 

दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–ढुङ्गाड–देउरा सडक निर्माण, स्तोन्नति र विभिन्न खण्डमा कालोपत्रेको काम भइरहेको छ। यस सडकको पोखरा–बेलापुर–ढुङ्गाड सडकखण्ड निर्माण र कालोपत्रेका लागि ३६ करोड ११ लाख रकम लागत अनुमानमा ठेक्का गरिएको थियो। हालसम्म १० करोड १३ लाख रकम खर्च गरेर ४९ प्रतिशत काम पूरा भएको छ। गाईबाँधे–लिप्ना सडकखण्ड ३७ करोड ६१ लाख रुपियाँ अनुमानित लागतमा ठेक्का लगाइएको थियो। हालसम्म छ करोड २२ लाख रुपियाँ खर्च गरी २९ प्रतिशत काम सकिएको छ। 

सलौन–चिरकिट्टे सडकखण्डमा छ करोड ७६ लाख रकम अनुमानित बजेटमा ठेक्का लगाइएको थियो। हालसम्म दुई करोड ५९ लाख रुपियाँ खर्च गरेर ७३ प्रतिशत काम पूरा गरिएको छ। 

भित्री मधेशमा बनाइँदै नहर 

डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुडाका खेतमा सिँचाइ सुविधा पु-याउन एक करोड ६० लाख रुपियाँको लागतमा नहर निर्माण भइरहेको छ। जोगबुडा क्षेत्रको परशुराम नगरपालिका–५, परिगाउँमा नहर निर्माण भइरहेको छ । चालू आर्थिक वर्ष २०७९/८० मा १० किलोमिटर नहर निर्माण गरेर परिगाउँको तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने योजनासहित काम भइरहेको जलस्रोत तथा सिँचाइ कार्यालय डडेल्धुराले जनाएको छ।

अप्पर परिगाउँ सिँचाइ योजना ६० लाख रुपियाँ र लोवर परिगाउँ सिँचाइ योजना ८० लाख रुपियाँ गरेर एक करोड २० लाख रुपियाँ लागतमा दुईवटा सिँचाइ योजना निर्माणको काम भइरहेको कार्यालयका प्राविधिक रोशन भट्टले जानकारी दिनुभयो।

परशुराम नगरपालिका–६ को सिमलखेतमा ४० लाख रुपियाँको लागतमा पाँच सय मिटर नहर निर्माणको चरणमा छ। गत आर्थिक वर्ष २०७८/७९ मा नहर निर्माणको काम थालनी गरेर चालू आर्थिक वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको जानकारी भट्टले दिनुभयो।


सिमलखेत क्षेत्रका तीनवटा बस्तीका दुई सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यसाथ सर्गौणा, सिमलखेत, ठन्नजाला सिँचाइ योजना निर्माणको काम भइरहेको बताइन्छ। सिमलखेतमा २०६२ सालमा आएको बाढीले पूरै बस्ती विस्थापित भएको थियो। पन्तुरा खोलाको बाढीले बस्तीसहित खेत बगरमा परिणत गरेको थियो। ३२ करोड रुपियाँ लागतमा पन्तुरा र रङ्गुन खोलामा तटबन्ध लगाइएपछि चार वर्षयता सिमलखेतवासी सिमलखेतमै पुनस्र्थापित हुँदै छन्। आर्थिक वर्ष २०७४/७५ मा ठेक्का सम्झौता भई गत आर्थिक वर्ष २०७८/७९ मा तटबन्ध निर्माणको काम पूरा भएको जलस्रोत तथा सिँचाइ कार्यालय डडेल्धुराले जानकारी दिएको छ । 

रङ्गुन खोलामा पाँच हजार चार सय मिटर र पन्तुरा खोलामा एक हजार मिटर लामो तटबन्ध निर्माण गरिएको छ। तटबन्ध बनेपछि स्थानीयले बगरमा आआफ्ना खेतबारी खोज्दै खेतीपाती गर्न थालेका छन्। भट्टका अनुसार परशुराम नगरपालिका–३, शीर्ष गाउँमा ३० लाख रुपियाँ लागतको सिँचाइ योजना निर्माणको काम भइरहेको छ। शीर्ष गाउँको चार सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु-याउने लक्ष्यसाथ काम भइरहेको छ। आठ किलोमिटर लामो नहर निर्माण गरी सिँचाइ सुविधा पु-याइने भएको छ। 

जलस्रोत तथा सिँचाइ कार्यालयका अनुसार भित्री मधेश क्षेत्रका यी योजनालगायत डडेल्धुरामा चालू आर्थिक वर्षमा १४१ वटा योजना निर्माणको चरणमा छन्। सो योजना निर्माणका लागि ३२ करोड ३० लाख रुपियाँको बजेट रहेको सिँचाइ कार्यालयले जानकारी दिएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा २८ करोड ३२ लाख ६० हजार रकममा १२१ सिँचाइ योजनाको निर्माण थालिएको थियो। यीमध्ये ७४ योजना पूरा भएका छन्। अन्य योजना क्रमागत योजनामा थिए। केही योजना चालू आर्थिक वर्षमा पूरा हुने सो कार्यालयले जनाएको छ।

बाउन्न विद्यालय भवन बन्दै

चालू आर्थिक वर्ष २०७९/८० मा ५२ वटा विद्यालय भवन निर्माण गर्न थालिएको छ। सामाजिक विकास कार्यालय डडेल्धुराअन्तर्गत विभिन्न विद्यालयमा चार र दुईकोठे गरी ५२ वटा भवन निर्माण गरिन लागेका हुन्। कार्यालयले दिएको जानकारीअनुसार ४० लाख रुपियाँका दरले ११ 

वटा चारकोठे र २१ लाख रुपियाँका दरले ४१ वटा दुईकोठे भवन निर्माण भइरहेका छन्। यस्तै २० लाख रुपियाँमा एउटा दुईकोठे भवन निर्माण गरिने कार्यालय प्रमुख प्रयागराज जोशीले जानकारी दिनुभयो। 


चालू आर्थिक वर्षमा कार्यालयको कुल बजेट 

२३ करोड ३८ लाख रुपियाँ छ। कुल बजेटको १९ करोड ६२ लाख रुपियाँ पुँजीगत रहेको उहाँले बताउनुभयो। यसैगरी कभर्ड हल निर्माणका लागि थप ५० लाख रकम कार्यालयलाई प्राप्त भएको उहाँले बताउनुभयो। 

शिक्षा, सामाजिक विकास, युवा तथा खेलकुद र भाषा तथा संस्कृति गरेर चारवटा क्षेत्रमा काम गर्ने कार्यालयले चालू आर्थिक वर्षमा २० लाख रुपियाँको लागतमा एउटा पुस्तकालय भवन, सात लाख रुपियाँका दरले पाँचवटा र १० लाख रुपियाँको लागतमा एउटा शौचालय निर्माण गर्ने लक्ष्य राखेको छ। यस्तै १५ लाख रुपियाँका दरले १३ वटा सामुदायिक भवन, १० लाखका दरले नौवटा खेलमैदान/घेरबार, १५ लाख रकममा एउटा पुस्तकालय सभा हल निर्माण, पाँच लाखका दरले ५० वटा खेल मैदान घेरबार/मर्मत, सात लाखको फर्निचर खरिद र पाँच लाख रुपियाँका दरले सातवटा आईसीटी स्थापना गरिने कार्यालयका इन्जिनियर जीवन ठगुन्नाले जानकारी दिनुभयो। 

कार्यालयले सामाजिक विकासतर्फ विभिन्न शीर्षकमा एक करोड ६० लाख ५५ हजार रुपियाँ विनियोजना गरेको छ। भवन निर्माणका लागि विद्यालयसँग सम्झौता भइसकेको इन्जिनियर ठगुन्नाले जानकारी दिनुभयो।

सामुदायिक विद्यालय १४१, चार नमुना 

डडेल्धुराका १४१ सामुदायिक विद्यालयमा ४५ हजार ७४६ विद्यार्थी अध्ययनरत छन्। यीमध्ये चारवटा विद्यालय नमुना विद्यालय छन्। परशुराम नगरपालिका–५, परिगाउँको भुवनेश्वरी मावि, अमरगढी नगरपालिका–७ को उग्रतारा मावि; अजयमेरु गाउँपालिका–२, पुइलेकको बालकल्याण मावि र भागेश्वर गाउँपालिका–३, बोगटाको सरस्वती मावि नमुना विद्यालय हुन्। यहाँका १० सामुदायिक विद्यालयमा प्राविधिक धारतर्फका विषय अध्यापन भइरहेका छन्। १० मध्ये छवटा विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फको पढाइ र चारवटा विद्यालयमा सीटीईभीटीबाट सञ्चालित ११, १२ कक्षामा प्राविधिक धारतर्फका विषय पढाइ भइरहेको छ। अमरगढी नगरपालिका–५, खलङ्गाको महेन्द्र मावि; परशुराम नगरपालिका–१२, जोगबुडाको सिद्धनाथ मावि; नवदुर्गा गाउँपालिका–१, कोटेलीको वीरबलभद्र माविमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिरियरिङ, अजयमेरु गाउँपालिका–१, पुइलेकको बालकल्याण मावि; भागेश्वर गाउँपालिका–३, बोगटाको सरस्वती मावि र परशुराम नगरपालिका–४, कटालको भागेश्वर माविमा कृषि प्राविधिक धारतर्फका विषयहरू पढाइ भइरहेका छन्। 

सीटीईभीटीबाट सम्बन्धन प्राप्त अमरगढी नगरपालिका–८, टाँटरको भागेश्वर माविमा कक्षा ११ र १२ मा वन तथा वातावरण विज्ञान; अमरगढी–२, मौरडाको बैजनाथ मावि; अमरगढी–३, नुवाकोटको घटाल मावि; आलिताल गाउँपालिका–८, डोलाको दुर्गा माविमा आईएससीएजीका विषय पढाइ भइरहेको जिल्ला शिक्षा समन्वय एकाइ डडेल्धुराले जानकारी दिएको छ। कार्यालयका प्राविधिक सहायक केशव जोशीका अनुसार डडेल्धुरामा प्राथमिक विद्यालयको सङ्ख्या ११५, निमाविको सङ्ख्या ५७ र माविको सङ्ख्या ७१ रहेको छ। डडेल्धुराबाट गत वर्ष दुई हजार ८१३ विद्यार्थीले एसईई परीक्षा दिएका थिए। कुल परीक्षार्थीमध्ये तीन जनाले ३.६ भन्दा माथि जीपीए ल्याएका थिए। उनीहरू सबै संस्थागत विद्यालयका विद्यार्थी थिए। यस वर्ष दुई हजार ६८९ विद्यार्थीले एसईई दिने भएका छन्। यीमध्ये साधारणतर्फ दुई हजार ३६८, प्राविधिकतर्फ २१५ र ग्रेस वृद्धि गर्ने विद्यार्थीको सङ्ख्या १०६ रहेको छ। 

कृषिमा आठ करोड खर्च गरिँदै

चालू आर्थिक वर्षमा डडेल्धुरा जिल्लाभरि कृषि क्षेत्रमा आठ करोड २४ लाख दुई हजार रुपियाँ खर्च गरिँदै छ। कृषि ज्ञान केन्द्र, डडेल्धुराका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टका अनुसार सङ्घीय र प्रदेश सरकारको ससर्त अनुदानसहित विभिन्न शीर्षकमा सो रकम खर्च गरिँदै छ। प्रदेश सरकारको मात्रै ससर्त अनुदानतर्फको कुल रकम सात करोड ५१ लाख ५२ हजार रुपियाँ रहेको छ। 

प्रदेश सरकारको ससर्त अनुदानतर्फ साना सिँचाइ निर्माण, मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम, बीउ उत्पादन कार्यक्रम, तरकारी विकाससम्बन्धी कार्यक्रम, आलु बाली, फलफूल विकाससम्बन्धी कार्यक्रम, खाद्यान्न बालीसम्बन्धी कार्यक्रम, कृषि यान्त्रिकीकरणसम्बन्धी कार्यक्रम, सहकारी भवन निर्माणसम्बन्धी कार्यक्रम, विपन्न वर्ग लक्षित कार्यक्रम, च्याउ उत्पादन कार्यक्रम, मौरी विकास कार्यक्रम रहेका छन्।

कृषि विकास निर्देशनालयका अधिकृत केशव पाण्डेयका अनुसार कुल क्षेत्रफल एक लाख ५३ हजार आठ सय हेक्टर रहेको डडेल्धुरामा खेतीयोग्य जमिन ११ हजार ६१६ हेक्टर रहेको छ। खेती गरिएको जमिनको क्षेत्रफल १० हजार ६६७ हेक्टर रहेको छ। यसमध्ये पनि वर्षभरि सिँचाइ हुने जमिनको क्षेत्रफल तीन हजार २०२ हेक्टर रहेको छ। आंशिक सिञ्चित हुने जमिनको क्षेत्रफल एक हजार ८०६ हेक्टर रहेको छ। एक लाख ३९ हजार ४२० जनसङ्ख्या रहेको डडेल्धुरामा कृषि पेसामा निर्भर जनसङ्ख्या ६५ प्रतिशत रहेको छ। प्रतिकृषक खेतीयोग्य जमिन शून्य दशमलव पाँच प्रतिशत रहेको छ। 

खाद्यान्न बालीमा उत्पादन वृद्धि भए पनि आपूर्ति हुन नसकेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ। गत वर्ष धान उत्पादकत्व प्रतिहेक्टर दुई दशमलव नौ मेट्रिक टन थियो। चालू आर्थिक वर्षमा प्रतिहेक्टर तीन दशमलव तीन मेट्रिक टन उत्पादन भएको छ। यो गत वर्षभन्दा १३ दशमलव सात प्रतिशतले बढी हो। मकैको उत्पादकत्व वृद्धि प्रतिहेक्टर गत वर्ष दुई दशमलव चार मेट्रिक टन थियो। चालू आर्थिक वर्षमा प्रतिहेक्टर तीनमेट्रिक टन भएको छ। 

कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टका अनुसार तेलहन बालीको क्षेत्र विकास गत वर्ष १७ हेक्टर थियो। चालू आर्थिक वर्षमा २० हेक्टर, गहुँ क्षेत्र विस्तार गत वर्ष आठ हजार ७४४ थियो भने यस वर्ष आठ हजार ७५५ हेक्टर पुगेको छ। गहुँको बीउ उत्पादन गत वर्ष २६ हेक्टर थियो। यस वर्ष २८ हेक्टर, आलु क्षेत्र विस्तार गत वर्ष दुई सय हेक्टर थियो। यस वर्ष २५० हेक्टर पुगेको छ। आलु उत्पादकत्व वृद्धि गत वर्ष २१ मेट्रिक टन थियो। यस वर्ष साढे २२ मेट्रिक टन भएको छ।

यो गत वर्षभन्दा सात प्रतिशतले बढी हो। फलफूल उत्पादनतर्फ डडेल्धुरामा स्याउ उत्पादन गत वर्ष नौ मेट्रिक टन रहेकोमा यस वर्ष १० मेट्रिक टन पुगेको छ। ओखर उत्पादन गत वर्ष चार सय मेट्रिक टन थियो। यस वर्ष ४५० मेट्रिक टन उत्पादन भएको छ। सुन्तला जातका फलफूल गत वर्ष दुई हजार चार सय मेट्रिक टन थियो। यस वर्ष दुई हजार पाँच सय मेट्रिक उत्पादन भएको छ। केरा उत्पादन गत वर्ष ८२० मेट्रिक टन थियो। यस वर्ष ८५० मेट्रिक टन उत्पादन भएको छ। दलहन उत्पादन गत वर्ष एक हजार ६६२ मेट्रिक टन थियो। यस वर्ष एक हजार ६३५ मेट्रिक टन र तरकारीको उत्पादकत्व प्रतिहेक्टर गत वर्ष १३ दशमलव ४ थियो। यस वर्ष प्रतिहेक्टर १८ मेट्रिक टन तरकारीको उत्पादकत्व पुगेको छ। 


दूध र मासुमा आत्मनिर्भर

दूध र मासुमा डडेल्धुरा जिल्ला पूर्ण रूपमा आत्मनिर्भर रहेको छ। भित्री मधेश क्षेत्र आलिताल गाउँपालिकाबाट प्रत्येक साता नौ हजार लिटर दूध दुग्ध विकास संस्थान धनगढीले लैजाने गरेको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख चिकित्सक देवराज भट्टका अनुसार चालू आर्थिक वर्षमा कार्यालयको कुल बजेट पाँच करोड ४० लाख रुपियाँ रहेको छ। 

स्थानीय जातको गड्डी भैँसीको संरक्षण प्रवद्र्धनका लागि १० लाख, गाई ब्लक कार्यक्रमअन्तर्गत १६ लाख रुपियाँको लागतमा सडक कोरिडोर निर्माणसमेत गरिँदै छ। सो कोरिडोरमा अढाई सय परिवार संलग्न छन् भने साढे पाँच सय उन्नत गाई पालन गरिएको छ। प्रत्येक दिन अढाई हजारदेखि तीन हजार लिटरसम्म दूध उत्पादन हुने गरेको छ। 

भैँसी विकास कार्यक्रमतर्फ नवदुर्गा गाउँपालिका–१, कोटेली र भागेश्वर गाउँपालिका–५, गोलाई गाउँमा २०/२० गरी ४० गोठ सुधार निर्माणका लागि ६० लाख रुपियाँ विनियोजन गरिएको छ। सीमान्तकृत वर्ग, लक्षित वर्ग, एकल महिला, निम्न आय भएका समुदायका लागि आलिताल गाउँपालिका–६ का दुई वटा समुदायमा बङ्गुरपालन गर्न ३० लाख रुपियाँ छुट्याइएको छ। बाख्रा विकासका लागि ३० लाख रुपियाँ, अमरगढी नगरपालिका–२, मौरडामा गाई–भैँसी फार्म सुदृढीकरणका लागि २० लाख रुपियाँ, गाई–भैँसीको कम्पोस्ट मल, गड्यौला मल उत्पादनका लागि ४० लाख रुपियाँ, एकीकृत पशु व्यवस्थापन प्रवद्र्धनका लागि छवटा समुदायमा २१ लाख रुपियाँ विनियोजन गरिएको जनाइएको छ। 

प्रमुख चिकित्सक भट्टका अनुसार पोषण सुधारतर्फ एक सय परिवारका लागि १० लाख रुपियाँ, व्यावसायिक बाख्रा फार्म सुदृढीकरणका लागि ३० लाख रुपियाँ, विपन्न दलित समुदामा बाख्रा, बङ्गुर, कुखुरापालनका लागि ३० लाख रुपियाँ, पशुपन्छी आकस्मिक तथा महामारी रोग नियन्त्रणका लागि १० लाख रुपियाँ, अन्य पशु शिविरका लागि छ लाख रुपियाँ विनियोजन गरेर काम भइरहेको छ।


खानेपानीका १२५ योजना


चालू आर्थिक वर्षमा डडेल्धुरामा १२५ वटा खानेपानी योजना निर्माण गर्न १४ करोड ५० लाख २० हजार रुपियाँ विनियोजन भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर धीरज ऐरका अनुसार डडेल्धुरामा हाल ७० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको छ।