बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। उहाँसँग नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुवास नेम्वाङ मैत्रीपूर्ण प्रतिस्पर्धामा हुनुहुन्थ्यो।
संसद्मा प्रतिनिधित्व गर्ने १४ दलमध्ये नौ दलको पौडेललाई समर्थन भएकाले उहाँको जित आरम्भमै लगभग सुनिश्चितजस्तै थियो। लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा पौडेललाई सबैतिरबाट बधाई प्राप्त भइरहेको छ। संवैधानिक व्यवस्थाअनुरूप राष्ट्रपति पद कार्यकारी नभए पनि संविधानको परिपालना तथा संरक्षणमा राष्ट्रपतिको भूमिका महत्वपूर्ण र गौरवशाली मानिन्छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो सङ्घर्ष, त्याग र योगदानका प्रतिमूर्ति नेता पौडेलको सादगी जीवनका निम्ति राष्ट्रप्रमुखको मर्यादित आसन गौरवको विषयसमेत हो।
नेपालको राजनीतिको झन्डै छ दशक आरोहअवरोहका भुक्तभोगी पौडेलको निजी जीवन असाध्य साधारण रहेको देखिन्छ। व्यक्तिगत स्वभावमा सभ्य, शालीन तथा मृदुभाषी हुनुहुन्छ। प्रजातान्त्रिक आन्दोलनको कठिन घडीमा सतीसालझैँ अडिग पौडेलको राजनीतिक वृत्तमा नाम नै सम्मानका साथ लिइने गरिन्छ। सम्भवतः यही कारणले नेपाली कांग्रेसले राष्ट्रपतिको उपयुक्त उम्मेदवारका रूपमा उहाँलाई प्रस्ताव ग-यो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा पार्टी पङ्क्तिको मात्र समर्थन रहेन, नौ राजनीतिक दलले साझा उम्मेदवार नै बनाए। पार्टी तथा समग्र राजनीतिमा पौडेलको भूमिका मध्यमार्गीका रूपमा सुपरिचित थियो। शीर्ष नेताहरूका बीचका आपसी वैमनस्यता मिलाउन उहाँले कैयौँ पटक सकारात्मक भूमिका निर्वाह गर्नुभएको इतिहास सुरक्षित छ। २०४६ सालमा बहुदलको पुनस्र्थापनापश्चात् सम्पन्न भएका सातमध्ये छ वटा निर्वाचनमा तनहुँबाट उहाँ प्रतिनिधि सभामा निर्वाचित हुनु भयो। विगतलाई विश्लेषण गरेर नै हुनुपर्छ, राष्ट्रपतिमा निर्वाचित भएपश्चात् मुलुकको संविधानले असल संरक्षक अभिभावक पाएको विश्लेषण गरिएको छ।
तेस्रो राष्ट्रपतिको निर्वाचनसँगै यसअघिका राष्ट्रपतिहरूको कार्यमूल्याङ्कन समेत हुने गरेको पाइन्छ। उहाँहरूको भूमिकामध्ये कतिपय अंश विवादमा रहेको धेरैलाई विदितै छ। राष्ट्रपति राजनीतिबाट माथि उठेको सबैको अभिभावक हो। राष्ट्रप्रमुखबाट कसैलाई काखा र पाखाको व्यवहार पाच्य हुँदैन। राष्ट्रपतिले कुनै दलविशेषको सूक्ष्म व्यवस्थापनको चिन्ता र चासो लिनु राम्रो मानिन्न। सबैप्रति समान व्यवहारसँगै संविधान र कानुनको परिपालनमा अगाडि बढ्दा मात्र पदीय गरिमा अक्षुण्ण रहन सक्छ। नवनिर्वाचित राष्ट्रपति पौडेल विगतबाट पूरापूर जानकार हुनुहुन्छ। निर्वाचन अघि पौडेलले विगतका राष्ट्रपतिबाट भएका गल्ती नगर्ने तथा संविधानको संरक्षक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएबाट पनि पौडेलप्रति जनअपेक्षा वृद्धि भएको मान्न सकिन्छ। उहाँले राष्ट्रप्रमुख पदको मौजुदा उचाइ अझै बढाउनु हुने आमविश्वास स्वाभाविक मान्न सकिन्छ।
यो राष्ट्रपति निर्वाचनमा संसद्का दुई प्रमुख दल नेपाली कांग्रेसका तर्फबाट पौडेल र नेकपाका नेता नेम्वाङ दुवै जना राजनीतिमा पारङ्गत नेता भएकोमा दुईमत छैन। उहाँहरू दुवै जना संसद्का पूर्वसभामुखको भूमिका निर्वाह गरिसक्नु भएको व्यक्तित्व भएर मात्र होइन, शालीनतामा अनुकरणीय व्यक्तित्वसमेत रहेको देख्न सकिन्छ। यी दुवै व्यक्तित्वबाट निर्वाचनका क्रममा देखिएको आपसी सद्भावना तथा व्यवहारले नेपालको लोकतान्त्रिक पद्धतिमा नयाँ इट्टा थपेको छ। राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेलमा स्वाभाविक रूपमा गहन जिम्मेवारी थपिएको छ। जीवनको उत्तराद्र्धमा पुग्नु भएका पौडेलका निम्ति राष्ट्र सेवा गर्ने यो अपूर्व महत्वपूर्ण अवसरसमेत हो। राजनीतिक क्रान्तिसँगै देशले आर्थिक समृद्धिको तीव्र आकाङ्क्षा राखेको छ। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका तीन करोड नेपालीको सच्चा अभिभावक बनेर राष्ट्रको समृद्धिमा सरकार र राज्यका तमाम आयामलाई ऊर्जा दिन सक्नु पर्नेछ।
वास्तवमै वर्ष २०७९ चुनावी वर्षका रूपमा रह्यो। वैशाखमा स्थानीय तहको निर्वाचन, मङ्सिरमा सङ्घ र प्रदेश सभाको निर्वाचनसँगै फागुनमा राष्ट्रपति निर्वाचनपश्चात् लगभग पाँच वर्षका निम्ति लोकतान्त्रिक निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएका छन्। अब उपराष्ट्रपतिको निर्वाचन बाँकी छ। यी सबै निर्वाचन लोकतन्त्रको संस्थागत विकास तथा विस्तारमा निकै ऐतिहासिक छन्। यी निर्वाचनका कारण मुलुकका सबै क्षेत्रमा स्थायित्व प्राप्त हुनेमा विश्वस्त रहन सकिन्छ। सबै निर्वाचन सम्पन्न भइसकेको अवस्थामा अब मुलुकलाई विकास तथा समृद्धिका पथमा अगाडि बढाउनु सबै राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिको मूल दायित्व बनेको छ। सबै राजनीतिक दल तथा जनप्रतिनिधिको विकासमा हुनुपर्छ। राष्ट्रप्रमुखमा पौडेलको कार्यकालमा मुलुकको समग्र आयामले अग्रगामी मार्गप्रशस्त गर्न सकोस्, यही हार्दिक बधाई।