• १३ साउन २०८१, आइतबार

राष्ट्रपति निर्वाचन

गठबन्धनका शीर्ष नेताद्वारा मतदान

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् भवन नयाँबानेश्वरमा बिहीबार राष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, फागुन २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गठबन्धनका शीर्ष नेताहरुले नयाँ राष्ट्रपति चयनका लागि भइरहेको निर्वाचनमा मतदान गर्नुभएको छ  । नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेर प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गर्नुभएको हो ।

जसअनुसार प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले मतदान गर्नुभएको छ ।


यसैगरी, राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसक्नुभएको छ । त्यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।

बिहीबार बिहान १० बजेदेखि राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको हो । मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।


राष्ट्रपति निर्वाचन इतिहास
मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए ।

पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा रामवरण यादवले दुई सय ८३ तथा रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गर्नुभयो । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले तीन सय आठ तथा सिंहले दुई सय ८२ मत प्राप्त गर्नुभयो । संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित हुनुुभएको थियो ।

नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो । दलहरुबीच यदी सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो ।

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट बहुमतबाट हुने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो ।

उक्त निर्वाचनमा सङ्घीय संसद् सदस्य तीन सय ३४ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८४ मतदाता रहेकामा सङ्घीय संसद् सदस्य तीन सय २६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना (९७.५१ प्रतिशत)ले मतदान गरेका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । निर्वाचनमा आठ जना (०.९३ प्रतिशत) को मत बदर भएको थियो ।

सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार दुई सय ७५ तथा कुमारी लक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो ।

तस्बिर : केशब गुरुङ


यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डद्वारा मतदान