• ८ वैशाख २०८१, शनिबार

हरेक आन्दोलनमा महिलाको निर्णायक भूमिका रह्यो : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, फागुन २४ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिला सशक्तीकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र नेतृत्व रहँदै आएको बताउँदै अध्यक्ष नेपालले महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरू गरी त्यसलाई अभ्यासमा ल्याइएको बताउनुभयो । “फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” अध्यक्ष नेपालद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्ला दिनमा विभिन्न रूपमा महिलाहरू आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भइरहेका बताउँदै उहाँले विभिन्न कुरीतिहरूलाई हटाएर सम्मानपूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नु भएको छ । रासस