• १३ साउन २०८१, आइतबार

रेसुङ्गा क्याम्पसमा उम्मेदवार घोषणा

blog

नेपाल विद्यार्थी संघले सभापतिको उम्मेदवार घोषणा गर्दै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, फागुन २४ गते । स्ववियु निर्वाचनका लागि गुल्मीको एक क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले सभापतिको उम्मेदवार घोषणा गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसंघले विद्यार्थी नेता पुनाराम घिमिरेलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ । घिमिरे नेपाल विद्यार्थी सङ्घ रेसुङ्गा बहुमुखी क्याम्पसका इकाई सभापति हुनुहुन्छ । 

नेपाली कांग्रेसको पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नेविसंघले रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा घिमिरेको नाम सार्वजनिक गरेको हो । नेविसंघका जिल्ला सभापति झविन्द्र पाण्डेले यस क्याम्पसमा हुने स्ववियु निर्वाचनमा घिमिरेलाई सभापतिको उम्मेदवार बनाएको घोषणा गर्नुभयो । क्याम्पसलाई हरेक ढङ्गबाट अब्बल बनाउन नेविसंघले हरदम प्रयत्न र आवाज उठाउँदै आएको छ । 

शिक्षामा भएका विकृतिको अन्त्य तथा समयानुकूल प्राविधिक शिक्षा सञ्चालन र विद्यार्थीको हकहितका लागि नेविसंघको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो । केन्द्रको एलाइन्सअनुसार आफूहरू अगाडि बढिरहेको बताउँदै अन्य विद्यार्थी सङ्गठनसँग पनि निरन्तर छलफल भइरहेको बताउनुभयो । 

सचिव र अन्य पदाधिकारीका विषयमा भने अन्य विद्यार्थी सङ्गठनसँग गठबन्धनका लागि निरन्तर छलफल गरिरहेकाले छिट्टै टुङ्गो लाग्ने उहाँको भनाइ छ । स्ववियु सभापति उम्मेदवार घिमिरेले विद्यार्थीको हकहितका लागि नेविसंघले विगतदेखि नै आवाज उठाउँदै आएकाले आगामी दिनमा पनि समयानुकूल शिक्षा प्रवाहका लागि निरन्तर आवाज उठाउने बताउनुभयो । 

संगठनबीच चुनावी तालमेल 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (विप्लव) समूहका विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा तालमेल गरेर जाने सहमति बनेको छ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनमा मिलेर जाने संयुक्त विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

जिल्लास्थित एमाले सचिव गणेश श्रीपाली, माओवादी केन्द्रका सचिव अशोक थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शोभाखर गिरी, अनेरास्ववियु (क्रान्तिकारी) गुल्मीका अध्यक्ष राजन पोखरेल र विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) का संयोजक राज खड्काको संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा स्ववियु निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको जनाएका छन् । 

विज्ञप्तिअनुसार एमाले निकट अनेरास्ववियुले रेसुङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, सत्यवती क्याम्पस, रुरु क्याम्पस, दिगाम आदर्श क्याम्पसमा नेतृत्व लिने सहमति भएको छ । अनेरास्ववियु क्रान्तिकारीले धुर्कोट बहुमुखी क्याम्पस, जनज्योति क्याम्पस, चन्द्रकोट क्याम्पस र रुरु संस्कृत विद्यापीठमा नेतृत्व लिने विज्ञप्तिमा उल्लेख छ ।  यस्तै श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आवश्यकता, भावना र मर्मलाई मध्यनजर गरी तालमेल र सहमति गरी अघि बढ्ने सहमति गरेका छन् । 

स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशील विचारधाराले सञ्चालन गर्दा अझ बढी प्रभावकारी बनाउन सकिने ठहर गर्दै वामपन्थी शक्तिहरूको तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै यो निर्वाचनमा संयुक्त ढङ्गले अघि बढ्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।