सुर्खेत समाचारदाता
सुर्खेत, फागुन २२ गते । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले तयार गरेको स्वास्थ्य सेवा ऐन २०७७ माथि सरोकारवालाले विभिन्न सुझाव दिएका छन्।
इन्सेक कर्णाली प्रदेशद्वारा पञ्चपुरीको बाबियाचौरमा आयोजित समीक्षामा ऐनमा सुर्ती, चुरोट र मदिरा सेवन तथा ओसारपसार कार्यलाई कडाइ गर्ने प्रावधान ल्याउन सुझाव दिएका छन्। ऐनमा रहेको प्रावधानको कार्यान्वयन प्रभावकारी गर्न नसक्दा समाजमा बेथिति बढेको सहभागीको भनाइ छ। उनीहरूले नगरका साना तथा ठूला बजारमा सुर्ती, चुरोट र मदिरा खुलेआम बिक्री भएको, निजी मेडिकलले पनि प्रतिबन्धित औषधि बिक्रीवितरण गरेकाले उनीहरूमाथि अनुगमन गर्ने प्रावधान पनि ऐनमा समावेश गर्न आग्रह गरेका छन्।
नगर कार्यपालिका सदस्य भगे कामीले नगरपालिकाले निर्माण गरेको ऐनमा मदिरा तथा सुर्तीजन्य वस्तु ओसारपसारमा कडाइ गर्नुपर्ने बताउनुभयो। हाल त्यस क्षेत्रमा अनुगमन नहुँदा बेथितिहरू बढेको उनीहरूको गुनासो छ। वडा नं. ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले निजी मेडिकललाई पनि अनुगमन गर्न पाउनुपर्ने प्रावधान राख्नुपर्ने बताउनुभयो। नगरपालिकाका प्रशासन शाखा प्रमुख गणेशप्रसाद अधिकारीले ऐनबारे सुझाव लिँदा एक हप्ताअघि अध्ययन आवश्यक रहेको बताउनुभयो।
नगरपालिकाका उपप्रमुख मुक्तिदेवी रेग्मीले नगरले निर्माण गरेको ऐनबारे सबैले चासो र जानकारी लिनुपर्ने बताउनुभयो। साथै नगरले महिला, बालबालिका, शिक्षालगायत धेरै क्षेत्रको ऐन निर्माणको क्रममा रहेकाले ती ऐनलाई मानव अधिकारमैत्री बनाइने प्रतिबद्धता जनाउनुभयो।
नगरपालिकाका प्रमुख लालवीर भण्डारीले आफूहरू ऐन कानुन निर्माणकै क्रममा रहेको बताउनुभयो। ऐनभित्रै रहेर काम गरिने भएकाले आगामी ऐनहरू मानव अधिकार मैत्री हुने उहाँको भनाइ छ। प्रमुख भण्डारीले ऐनलाई परिमार्जित गर्दै लगिने पनि उल्लेख गर्नुभयो।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले नगरले बनाएको ऐन र त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा समीक्षा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।
कार्यक्रमको सहजीकरण गर्दै मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक एवं मप विश्वविद्यालयका पूर्वडीन पीताम्बर ढकालले स्वास्थ्य सेवा ऐनमा रहनुपर्ने केही प्रावधानका बारेमा जानकारी गराउनुभएको थियो।