• ११ मंसिर २०८१, मङ्गलबार

शीतल निवाससितको अपेक्षा

blog

अहिले नेपालमा गणतन्त्र स्थापनापछिको तेस्रो राष्ट्रपति निर्वाचनको सरगर्मी सुरु भएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङबीचको प्रतिष्पर्धामा कसले बाजी मार्ने हो ? यो भने फागुन २५ गते टुङ्गिनेछ । निर्वाचनको यो रस्साकस्सीमा धेरै शक्ति राष्ट्रपति आफ्नो अनुकूलको बनाउन लागिपरेका छन् । निर्वाचनमा दुवै उम्मेदवारले पत्राचारसमेत गरेर आफूलाई मत मागिरहेका छन् । 

पौडेललाई आठ दलीय हालको गठबन्धसमेतको समर्थन रहेको देखिन्छ । नेम्वाङको पक्षमा भने अहिलेसम्म एमालेको बाहेक कसैको खुलेर समर्थन रहेको सार्वजनिक नभए पनि उहाँले आफू जित्ने दाबी गर्नुभएको छ । गत मङ्सिर ४ गतेको निर्वाचनबाट नेपाली जनताले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएकाले यसरी मिलेर बहुमत बनाउनुको विकल्प नै छैन । अहिलेसम्मको अवस्थामा पौडेलको पक्षमा मतभार धेरै छ । हुन त अहिलेको नेपाली राजनीतिक परिदृश्यमा बिहान र बेलुकामा कल्पनै नगरेको भिन्नता पाइने गरेको छ तर निर्वाचनसम्म यही अवस्था कायम रहने हो भने पौडेलको जित सुनिश्चितजस्तै देखिएको छ । यो जितलाई राष्ट्रिय धरोहर बनाउन सकेमा मात्र नेपाल र नेपालीको हित हुनेछ । 

अब हुने राष्ट्रपतिको निर्वाचनमा मुख्य रूपमा कांग्रेस र एमालेको भूमिका रहने भए पनि अहिले निर्णयक भूमिका भने एकीकृत माओवादीको हुने भएको छ । सात दलीय गठबन्धनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको भए पनि यता आएर प्रधानमन्त्री प्रचण्डले वर्तमान अवस्थामा राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा बनाउनुपर्ने विचार सार्वजनिक रूपमै राख्दै आउनुभएको थियो । 

संसद्मा तेस्रो ठूलो दल भए पनि प्रचण्डले राष्ट्रिय सहमतिको नारा दिएकाले बहुसङ्ख्यक दलले पौडेललाई समर्थन गरेकाले एमाले करिब करिब एक्लिएको अवस्थामा छ । प्रधानमन्त्री प्रचण्डले यसैलाई रााष्ट्रिय सहमति भनिरहनुभएको छ । कांग्रेसलाई एक्ल्याएर राष्ट्रिय सहमति र स्थिरता सम्भव हुँदैन भन्ने तर्क धेरैले गरिरहेका छन् । यता कांग्रेस भने प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर पुनः पाँच दलीय गठबन्धनलाई ब्युत्याएर आफ्नो गुमेको राजनीतिक उपलब्धि फर्काउने प्रयासमा लागेको देखिएको छ ।

यो प्रयासमा आठ दलीय गठबन्धन बनेकाले कांग्रेस सफल देखिएको छ । एमालेले माधवकुमार नेपालको नामसमेत राष्ट्रपतिमा चर्चामा ल्याएर आफ्नो बहुमत कायम राख्ने प्रयासमा रहेको भए पनि नेपालले इन्कार गरेकाले यो प्रयास असफल भइसकेको देखिन्छ । एकथरि विश्लेषकहरू प्रचण्ड सरकारको आयुका बारेमा पनि छलफल गरिरहेका छन् तर कांग्रेस भने प्रचण्डलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने पक्षमा देखिएको छ । 

जे होस्, निर्वाचनमा राष्ट्रिय सहमतिको नाममा आठ दलीय गठबन्धनले बाजी मार्ने सम्भावना देखिएको छ । यदि कांग्रेसको रणनीति सफल भएमा पौडेल नेपालको तेस्रो राष्ट्रपति हुने निश्चित देखिन्छ । यो रस्साकस्सीमा एमालेसमेतका सबै दल मिलेर सर्वसम्मत रूपमा राष्ट्रपति छान्न सके चौतर्फी रूपमा धरमराएको नेपालको राजनीतिको टेको बलियो हुने आशा गर्न सकिन्छ । अहिले राष्ट्रपति निर्वाचनको सन्दर्भमा राष्ट्रिय सहमतिको नारा आएको भए पनि नेपाल र नेपालीको हितमा राष्ट्रिय सहमतिको नारा ल्याएको राम्रो हो तर यो नारा हात्तीको देखाउने दाँत भने हुनु हुँदैन ।

नेपालको राजनीतिक परिपे्रक्ष्यमा यसअघि भने सबैले आकर्षक भाषण गरेर जनता झुक्याउने काम मात्र गरेकाले जनताले धेरै कुरा पत्याउनै छाडेका छन् । कुना, कुनाबाट थरि, थरिका विरोधका स्वर निस्किरहेका छन् । अब बन्ने राष्ट्रपतिले यी तमाम् विरोधका स्वरहरूलाई चित्त बुझाएर सफलता हात पार्न सक्ने हिम्मतका साथ काम गर्न सक्नुपर्दछ । अब बन्ने राष्ट्रपतिको मूल चुनौती नै यही हो । अर्को नेतृत्वले नेपालीको मन–मुटु छुने गरी वास्तवमा राष्ट्रहितमा काम गर्न सक्नुपर्दछ । जो अहिलेसम्म सर्वथा अभाव खट्किएको छ । विगतको तीतो अनुभवको आधारमा सबैले आआफ्नो स्वार्थमा काम गरेको अनुभव गरिएको छ । 

यस सन्दर्भमा संविधान र राष्ट्रहितको विषयमा सरकार र राष्ट्रपति दुवैले आफ्नै व्याख्याअनुसार काम गरेको देखिएको छ । सरकारले यसो गरेपछि सरकारले गरेको निर्णयलाई रोक्दा राष्ट्रपतिलाई दोष लगाएको देखिन्छ । सरकारले संविधानअनुसार नेपाल र नेपालीको हितमा काम गरेमा राष्ट्रपति पनि विवादमा पर्ने अवस्था आउँदैन । यसो भयो भने मात्र अब बन्ने राष्ट्रपति निर्विवाद हुन सक्छ । 

राष्ट्रपतिको पद दलभन्दा माथि उठेर साँच्चै राष्ट्रिय व्यक्तित्व बनेर काम गर्ने अपेक्षा गरिएकाले नै राष्ट्रपति हुनासाथ दलबाट राजीनामा दिनु परेको यथार्थलार्ई हृदयङ्गम् गर्न आवश्यक छ । यसअघि राजीनामा दिने कामलाई औपचारिकता मात्र ठानियो । यही भएकाले दलबाट राजीनामा दिएका व्यक्ति पनि राष्ट्रपति भएपछि पनि दलकै स्वार्थमा मुछिए । यो भयो भने सरकारमा रहेका प्रधानमन्त्रीसमेतले गलत निर्णय गरेर सिफारिस गरेर अध्यादेश वा विधेयक पठाउने हिम्मत गर्न सक्दैनन् ।

विगतमा भएको अभ्यास के भयो भने राष्ट्रपति मेरै दलको मानिस हो, मैले पठाएको सिफारिस राष्ट्रपतिले सजिलै स्वीकृत गर्छन् भने सोच प्रधानमन्त्रीको देखियो । अनि मेरै दलको प्रधानमन्त्रीले सिफारिस गरेर पठाएको विधेयक हो भनेर राष्ट्रपतिले आँखा चिम्लेर स्वीकृत गर्नु झन् गलत हो । यही भावनाले विगतमा काम भएकाले गलत भएको हो । अब बन्ने राष्ट्रपतिले पूर्ण रूपमा यो सोच र कामलाई निर्मूल पारेर गर्न आवश्यक छ । यसैले राष्ट्रपति निस्स्वार्थ र निष्पक्ष बन्न जरुरी छ । जसले केवल नेपालको संविधानको रक्षा, नेपाल र नेपालीको हित र भलो हुने काम मात्र गर्नुपर्दछ । यो शैली छिमेकी भारतको राष्ट्रपतिले गरेको कामबाट सजिलै सिक्न सकिन्छ । अब बन्ने राष्ट्रपतिले यो मन्त्रलाई रातोदिन जप्न सके विगतको कमजोरी मेटाएर काम गर्न सम्भव हुन्छ । 

जीवनमा लामो सङ्घर्ष र अनुभव गरिसकेका व्यक्ति नै राष्ट्रपति हुने भएकाले कुनै वा कसैको स्वार्थमा जोडिनु वा बाझिनु हुँदै हुँदैन । राम्रो सुझबुझ भएको व्यक्तिलाई राष्ट्रपति बनाउन सके बल्ल निस्स्वार्थ र निष्पक्ष तरिकाले काम हुन सक्छ । अब बन्ने राष्ट्रपतिले यस्तै काम गर्नेछन् भन्ने नेपालीको अपेक्षा छ ।

लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।