• ९ पुस २०८१, मङ्गलबार

धनवर्षा महायज्ञको तयारी तीव्र

blog

विजयकुमार साह 

ढल्केबर, फागुन २० गते । देश समृद्धिको कामनासहित नेपालमा पहिलो पटक हुन लागेको नौ कुण्डीय अखण्ड धनवर्षा लक्ष्मीनारायण विष्णु महायज्ञको तयारी तीव्र पारिएको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसरमा यो यज्ञ हुन लागेको हो। 

लक्ष्मीनियाँ, मिथिला विहारी र क्षीरेश्वरनाथ नगरपालिकाको संयुक्त आयोजनामा फागुन २६ देखि चैत ४ गतेसम्म यज्ञ हुने साधक तथा आचार्य मनोज यादवले बताउनुभयो। देशको अर्थतन्त्रमा सुधार, देशको उत्थान र मानव कल्याण हेतु यो यज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो। त्रेतायुगमा खडेरीका कारण मिथिला राज्यको अर्थ व्यवस्था कमजोर भएपछि राजा जनकले अखण्ड धनवर्षा लक्ष्मीनारायण विष्णु महायज्ञ गर्नुभएको थियो। यज्ञपश्चात् राजा जनकले हलो जोत्दा माता सीता प्रकट भएको र त्यसपछि पुनः मिथिला राज्य समृद्ध भएको साधक मनोजको भनाइ छ। यो यज्ञ भारतको थुप्रै स्थानमा आयोजना गरिएको भए पनि नेपालमा पहिलो पटक गर्न लागिएको दाबी उहाँले गर्नुभयो। 

साधक मनोजले सुख, शान्ति र लोककल्याणको कामना गर्दै २१ औँ पटक घटस्थापनादेखि नवमीसम्म निराहर व्रत बसेर शरीरमाथि जमरा उमार्नु भएको छ। सप्तरीको राजविराज घर भएका ३६ वर्षीय मनोज हाल धनुषाको कमला नगरपालिका–९, लिलावतीमा आश्रम बनाएर बस्नुहुन्छ। यज्ञ व्यवस्थापन समितिका अध्यक्ष जानकीशरण यादवले लक्ष्मीनियाँ, मिथिला विहारी र क्षीरेश्वरनाथ गरी तीनवटा स्थानीय तहको संयुक्त आयोजनामा यज्ञ हुने हुँदा तीनवटै स्थानीय तहको सङ्गमस्थल हारसरमा यज्ञको तयारी अन्तिम चरणमा रहेको बताउनुभयो। यज्ञ मण्डप, विभिन्न देवीदेवताका मूर्ति निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउँदै उहाँले यज्ञमा झाँकी प्रदर्शन र कुस्ती प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो।