काठमाडौं, फागुन १९ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठदलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज (शुक्रबार) यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उहाँले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गर्नुभयो ।
“आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभास दिन प्रतिबद्ध रहेको भन्दै उहाँले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताउनुभयो ।
महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको बताउनुभयो । पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान् व्यक्ति भएको भन्दै उहाँले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताउनुभयो ।
उहाँले उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने समेत बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गर्नुभएको उहाँको भनाइ छ ।
बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आठदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
उहाँले नयाँ गठबन्धनले जनतामा सकारात्मक छाप परेको दाबी गर्नुभयो । राष्ट्रपति पदका उम्मेदवार पौडेल लोकतान्त्रिक आन्दोलनको अगुवा हुनुका साथै निष्ठावान व्यक्ति भएको तथा सबै हिसाबले योग्य नेता भएकाले उहाँलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले प्रजातन्त्र, लोकतन्त्रको रक्षाका लागि लड्नुभएका रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गर्नु नै गठबन्धनको मर्म र भावना भएको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति पदका उम्मेदवार पौडेललाई अहिले दश दलको समर्थन प्राप्त भएको बताउनुभयो । “प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका नेता पौडेललाई दश दलको समर्थन छ, उहाँलाई निर्वाचित गर्नुको विकल्प छैन ।” रासस