स्याङ्जा समाचारदाता
स्याङ्जा, फागुन १९ गते । साँघुरो तथा घुम्तीका कारण जोखिममा रहेको पुतलीबजार नगरपालिका–४ र फेदीखोला–१ स्थित सिद्धार्थ राजमार्गअन्तर्गतको भालुपहाड सडकखण्ड चौडा र कालोपत्रे गरिएको छ। सडक साँघुरो र छेउमा बार नभएका कारण पटक–पटक सडक दुर्घटना हुने भएकाले सडक डिभिजन कार्यालय पोखराले सो सडक चौडा र कालोपत्रेसँगै घेराबार गरेको हो।
चट्टाने भीर काटेर ५० वर्षपहिला खनिएको भालुपहाड सडकखण्डको आधा किलोमिटर सडकखण्ड मात्र चौडा छ भने छेउमा कुनै बार नबनाइँदा जोखिम थियो।
सडक डिभिजन कार्यालयले दुई वर्षपहिला जुम्ला निर्माण सेवामार्फत दुईवटा घुम्ती र सडक चौडा पारेको हो। चौडा गरेको भालुपहाड खण्डमा जेएलसी बिल्डर्समार्फत सडक डिभिजनले कालोपत्रे र बार लगाएको इन्जिनियर अशोक पौडेलले बताउनुभयो।
यहाँ ५.२५ मिटरदेखि १४.२ मिटरसम्म ३५६.१५ मिटर सडक कालोपत्रे र चौडा गरिएको हो। सडक डिभिजनले ८८ लाख २७ हजार ३१२ रुपियाँ ७० पैसा खर्च गरेर प्रिमिक्स कार्पेट कालोपत्रे गरेको हो।
त्यस्तै ४८३ मिटर सडक छेउमा बार लगाइएको छ। सडक छेउमा २.९ मिटर देखि ४.८ मिटर लम्बाइका एक मिटरको फरकमा आधा–आधा मिटर चौडा ८५ वटा बार लगाइएको हो। जिल्लाकै जोखिमको यो सडक चौडा पारी बार लगाइएपछि स्थानीय हर्षित भएका छन्।