हरि कोइराला
उर्लाबारी, फागुन १९ गते । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा बर्सेनि ४७ करोड २९ लाख रुपियाँ वैदेशिक रोजगारीबाट विप्रेषण आउने गरेको छ । यो गाउँपालिकाका दुई हजार ६४९ जना युवा वैदेशिक रोजगारीमा गएका छन् । नौ हजार ४६७ घरधुरी र ३८ हजार ८२४ जनसङ्ख्या रहेको कानेपोखरी गाउँपालिकाका दुई हजार ६४९ घरधुरी (२८ प्रतिशत)का युवा कुनै न कुनै वैदेशिक रोजगारीमा गएको पाइएको छ ।
वैदेशिक रोजगारीमा गएकामध्ये ८७३ घरधुरीका युवा स्वदेश फर्किसकेका छन् भने एक हजार ७७६ घरधुरीका युवा वैदेशिक रोजगारीमा नै कार्यरत छन् ।
सामी परियोजना सहयोग एकाइ र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले वैदेशिक रोजगारीसम्बन्धी अध्ययन गरेको हो ।
विदेशबाट आउने विप्रेषणमध्ये ७० प्रतिशत खाडी र मलेसियाबाट प्राप्त हुने गरेको गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भन्नुभयो, “८२ घरधुरीमा त वृद्ध बाबुआमालाई छोडेर छोराबुहारी नै कमाउन गएको पायौँ ।”
घिमिरेका अनुसार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको ठूलो हिस्सा घरघडेरी खरिदमा प्रयोग भएको छ । “हाम्रो उद्देश्य उत्पादनसँग जोड्ने हो । सीपको अभावमा बीचमै काम छोडेर आउनु नपरोस् भन्ने उद्देश्य हो,” उहाँले भन्नुभयो ।
सङ्घ र प्रदेश सरकारले स्थानीय सरकारको बजेट कटौती गरिरहेको अवस्थामा स्थानीय सरकारले आन्तरिक आम्दानीका स्रोत निर्माण गर्न आवश्यक रहेको घिमिरेले बताउनुभयो । “विदेश गएको जनशक्तिबाट प्राप्त विप्रेषण र सीपलाई उत्पादनसँग जोड्न हामीले अर्गानिक माछापोखरी कार्यक्रम सञ्चालन गरेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भन्नुभयो ।
वार्षिक करोडौँ रुपियाँ भित्रिए पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेकाले उक्त पुँजीलाई सदुपयोग गर्ने उद्देश्यले सामी परियोजना सहयोग एकाइ र हेल्भेटास नेपालको सहकार्यमा पाश्र्वचित्र तयार गरिएको घिमिरेले बताउनुभयो ।
कानेपोखरी गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीपबाट उद्यम सुरु गर्न र विदेश जान चाहनेलाई सीप प्रदान गर्ने उद्देश्यले वैदेशिक रोजगारीसम्बन्धी पाश्र्वचित्र तयार गरेको गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशमा दुःख गरेर कमाएको पैसा उचित स्थानमा सदुपयोग गराउनु स्थानीय सरकारको हैसियतले गाउँपालिकाको कर्तव्य हो । हिजो हामी कालोपत्रे सडक, बिजुली, ढल निर्माणलगायतका भौतिक पूर्वाधारको विकासमा लाग्यौँ । अब मानव संसाधनको विकास, विदेशी सीपको उपयोगिता र कृषि उत्पादन वृद्धिमा लाग्नुछ । त्यसैले कृषि तथा पशु उत्पादन, माछा र दूधको निर्यात गर्ने जग निर्माणका लागि हामीले वैदेशिक रोजगार पाश्र्वचित्र तयार गरेका हौँ ।”