• १३ साउन २०८१, आइतबार

त्रिदेशीय मार्ग निर्माण गर्न राष्ट्रपति भण्डारीको आग्रह

blog

टुकीको ४५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रममा राष्ट्रपति भण्डारी । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, फागुन १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गर्न सम्बद्ध पक्षमा आग्रह गर्नुभएको छ । बिहीबार सदरमुकाम चरीकोटमा हजारभन्दा बढीको सङ्ख्यामा गठित टुकीको ४५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । 

सडक विकासको पूर्वाधार भएकाले छिटोभन्दा छिटो सडक निर्माणमा जुट्न तीनै तहका सरकारलाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्राचीन नाकाको रुपमा रहेको लामाबगर नाका खोल्न सकेमा त्रिदेशीय यातायात सञ्चालन भई जनतामा विकासको ढोका खोलिने र समृद्धि विकास हुने देखिएको छ ।” 

दोलखाको महत्वपूर्ण पर्यटकीय स्थलको पनि उजागर भई आयआर्जनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । समग्र नेपालको अर्थतन्त्र चलायमान बनाउन पनि त्रिदेशीय मार्ग आवश्यक रहेको उहाँको सुझाव छ । जिल्लावासी सबैलाई त्यसका लागि जुट्न उहाँले आग्रह गर्नुभयो ।  

किसानका लागि पशु बीमा हुनु अति जरुरी रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “टुकीका ४५ वर्षे अनुभवलाई समयसापेक्ष बनाउन पुनर्ताजगी तालिमको व्यवस्था हुनु आवश्यक छ । दक्ष जनशक्ति उत्पादन गर्न विद्यालय पाठ्यक्रलाई समयसापेक्ष बनाउनुपर्छ ।”  

प्राचीन नाकाको रुपमा रहेको लामाबगर नाका खोल्न सकेमा त्रिदेशीय यातायात सञ्चालन भई जनतामा विकासको ढोका खोलिने र समृद्धि विकास हुने देखिएको छ ।

टुकीहरु रघुनाथ उप्रेती र सविना लामाले कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष टुकीहरुको ४५ वर्षे अनुभव र समाजमा पर्न गएको छापबारे जनाकारी राख्नुभएको थियो । यस अवधिमा भए गरेका क्रियाकलापमा आधारित भिडियो पनि प्रस्तुत गरिएको छ । ग्रामीण विकास टुकी सङ्घ दोलखामा ५२५ र टुकी सङ्घ सुनकोसी सिन्धुपाल्चोकमा ४८५ टुकीहरु आबद्ध छन् । 

राष्ट्रपतिसमक्ष नेपालको विकासमा टुकीको योगदानमा चर्चा गर्दै राज्यको ध्यानाकर्षण पनि गराइएको थियो । राष्ट्रपति भण्डारीलाई टुकीको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो । हर्कमान पाख्रिन, जयप्रसाद दाहाल, लोकबहादुर श्रेष्ठ, घ्याम्सो लामा, दामोदर तिमिल्सिना, ढाल भण्डारी र टुकीका अभियन्ता डा. कृष्णकुमार पाण्डेलाई सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारी आजै बिहान प्रसिद्ध भीमेश्वरमा रुद्रीपाठ, पूजाआजामा सरिक हुनुभई प्रसाद ग्रहण गर्नुभयो ।