• १३ साउन २०८१, आइतबार

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो

blog

प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाकी प्रदेश सांसद शाहीले समर्थन फिर्ताको पत्र बुझाउनु हुँदै । तस्बिर : नविन सुवेदी

नविन सुवेदी

सुर्खेत, फागुन १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपतिको उम्मेदवारीले केन्द्रीय समीकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

राजनीतिमा आएको अस्थिरताले जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने र पार्टी केन्द्रको निर्णयलाई स्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राप्रपाकी प्रदेश सांसद सन्तोषी शाहीले जानकारी दिनुभयो । 

कर्णाली प्रदेशमा एक सिट मात्रै रहेको राप्रपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । यद्यपि शर्मा अल्पमतमा भने पर्नुभएको छैन । 

हाल शर्मालाई नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र एक स्वतन्त्रको समर्थन छ । केन्द्र सरकारबाट बाहिरिएको एमालेले प्रदेश सरकारबारे हालसम्म कुनै निर्णय लिइसकेको छैन । बिहीबार प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाकी प्रदेश सांसद शाहीले समर्थन फिर्ताको पत्र बुझाउनु भएको हो ।