• ९ पुस २०८१, मङ्गलबार

एम्बुलेन्स सञ्चालनमा कडाइ

blog

एम्बुलेन्स सञ्चालकहरुसँग छलफल गर्नुहुँदै धनुषाका एसपी विश्वराज खडका । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, फागुन १८ गते । एम्बुलेन्स व्यवस्थापन समिति धनुषाले एम्बुलेन्स सञ्चालनमा कडाइ गरेको छ । चर्को भाडा असुली, तोकिएको स्थानबाट सेवा नदिने र गैरकानुनी रूपमा एम्बुलेन्स खरिदबिक्रीको समाचार प्रकाशन भएपछि एम्बुलेन्स सञ्चालनमा कडाइ गरिएको हो । 

बिरामीलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यले नेपाल सरकारद्वारा भन्सार छुट तथा सहयोगमा प्राप्त एम्बुलेन्स यहाँका अधिकांश संस्थाले गैरकानुनी रूपमा कमाई खाने भाँडो बनाएको विषयलाई लिएर गोरखापत्र दैनिकमा समाचार छापिएको थियो । 

‘गैरकानुनी रूपमा एम्बुलेन्स खरिद–बिक्री र एम्बुलेन्सको भाडा मनपरी’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि एम्बुलेन्स व्यवस्थापन समितिले कडाइ गरेको छ ।   

बुधबार जनकपुरमा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा एम्बुलेन्स व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले बढी भाडा असुली, तोकिएको स्थानबाट सेवा नदिने, गैरकानुनी तरिकाबाट एम्बुलेन्स खरिदबिक्री र ठेक्कामा लगाउनेलगायत राष्ट्रिय एम्बुलेन्स निर्देशिका विपरीत कार्य गरेको पाइएमा कारबाही गर्ने निर्णय गरेको छ । 

समितिका सदस्य तथा एम्बुलेन्सचालक सङ्घका केन्द्रीय सदस्य महाशङ्कर ठाकुरका अनुसार बैठकले धनुषाबाट सञ्चालित सबै एम्बुलेन्समा जेपीएस प्रणाली जडान गर्न र १५ सदस्य अनुगमन समितिसमेत गठन गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले एम्बुलेन्सको कागजात जाँच सुरु गरिएको बताउनुभयो । एम्बुलेन्स व्यवस्थापन समितिले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउन जाँच सुरु गरिएको उहाँले बताउनुभयो ।