• ९ मंसिर २०८१, आइतबार

खरानीभित्रको पहेँलो आगो (कविता)

blog

खरानी खोस्रेर 

अगुल्टो ठोसठास पारेर 

भुतभुते तताउने 


ए मझिनी आमै ! 

आगो बलेपछि 

सालका पातमा सुर्ती खाँदै 

धुवाँजस्तै उडेका जिन्दगीका सपनाहरू

पहेँलो आगोमा हराइरहेछन् ! 


चिसो चुलाभित्रको मधुरो र पहेँलो आगो 

कोसीको पानीजस्तै सुसाइरहेछ ! 

जालमा अल्झिएका 

माछाका सपनाजस्तै 


जिन्दगीको जालमा 

अल्झिएका विपनाहरू 

बिछट्टैसँग छटपटाइरहेछ्न् 


माछजस्तै 

बाहिर निस्कन 

पानीसँग जिस्कन 

माछा त आगोमा पाक्न सक्छ 

विपनाहरू 

आगोको राप बाहिर 

भोक र व्रतको दर्शन पनि छाँट्न सक्छन् । 

तिम्रा लोग्नेको हुनुसँग 

कोसीको पानीमा जिन्दगीको डुङ्गा खियाएर 

बगिरहेको एउटा सग्लो जीवन 

एउटा सलल लय 

हिमनदी र चट्टानको छाती चिरेर 

पग्लिरहेको एउटा जीवन 

ओहो ! 

आमै 

ती स्थिर आँखाहरूमा जमेको 

पानी जस्तै घुमेको 

पहाड जस्तो टाढाको सुन्दर गाउँ 

खरानी ओल्टाइपल्टाइ गर्दै 

सुर्तीको सर्को तान्दै 

कुहिरोको बर्कोमा 

अर्को बिहानी पर्खिबसेकी होलिन् ।