• ११ मंसिर २०८१, मङ्गलबार

डिजिटल वित्तीय साक्षरता

blog

जीवन निर्वाह तथा बजारको वर्तमान संरचनामा वित्त व्यवस्थाको आधिपत्य स्थापित हुँदै गएको छ । यस सन्दर्भमा प्रविधिको विकास तथा द्रुततर विस्तारले गर्दा वित्त व्यवस्थासमेत प्रविधिसँग निर्भर बन्दै गएको छ । यो निर्भरताले गर्दा बजार तथा पुँजीको ठूलो हिस्सा डिजिटल माध्यममा परिवर्तित हुँदैछ । डिजिटल प्रविधिको प्लेटफर्ममा आधारित हुने पुँजी व्यवस्थाको यस विधालाई आजकल ‘डिजिटल फाइनान्स’ वा ‘डिजिटल वित्त’ को नामले सम्बोधन गरिन्छ । तथ्याङ्कको विद्युतीय सङ्कलन र हस्तान्तरणमा आधारित हुने र पैसाको भौतिक उपस्थितिबिना नै हुने यस्तो व्यावसायिक कारोबारको विधामा नवीन प्रविधिको सहायतामार्फत विद्युतीय माध्यमबाट कारोबार गर्ने गरिन्छ । डिजिटल कारोबारमा सूचना र सुरक्षाको संवेदनशीलता निकै गहन छ । यसर्थ यस्तो कारोबारमा संलग्न हुने सबै सरोकारवाला यसको विविध पाटोबारे गहिरोसँग परिचित र प्रशिक्षित हुन आवश्यक छ ।

दिगो विकासका विविध लक्षहरू हासिल गर्न पनि डिजिटल वित्तले निकै क्रान्तिकारी सहयोग गरिरहेको छ । गरिबी निवारण, समावेशिता, समानता, जिम्मेवार बजार व्यवस्थालगायतका सबै बुँदाको सफल कार्यान्वयनमा डिजिटल वित्तको निकै प्रभावकारी हस्तक्षेप रहने प्रस्ट छ । प्रविधिको पहुँच र प्रभाव बढ्दै जाँदा प्रविधिमा आश्रित हुने अर्थतन्त्रको ठूलो हिस्सामार्फत दिगो र प्रभावकारी विकासलाई पनि विस्तृत पहुँचमा लैजान सकिनेछ ।

नेपाल सरकारका तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत २०७९ माघ २९ गते सदनमा नेपालको अर्थतन्त्रको अर्धवार्षिक समीक्षामा समेत डिजिटल वित्तका विषयमा कुनै ठोस अवधारणा सुन्न पाइएन । नेपालको सरकारी निकायका पहुँचवाला अर्थशास्त्री तथा सरकार सञ्चालनका प्रमुख घटकहरूलाई भने डिजिटल वित्तको महìव तथा त्यसको प्राथमिकीकरण बारेमा खासै चासो जागेको जस्तो देखिँदैन । यता बजार भने दिनप्रतिदिन डिजिटल प्लाटफर्ममा निर्भर बन्ने क्रम द्रुत गतिमा बढिरहेको छ । भलै पहुँचवाला सबैजसो व्यक्ति यी नवीन प्लाटफर्मको प्रयोग गरिरहेका छन् तर त्यसलाई सरकारी स्तरबाट सम्बोधन गर्ने तथा नीतिगत तहमा त्यसको प्रभावहरू परिवर्तन गराउने काममा निकै उदासीन देखिन्छन् ।

स्वनिर्भर अर्थतन्त्रको आधारमा स्वनिर्भर अर्थतन्त्रका विविध आयामबारे विचार विमर्श हुने गर्छ । यस्तो स्वनिर्भर अर्थतन्त्रको प्रयत्नहरूलाई नवीन प्रविधिसँग जोडेर अगाडि बढाउन सकेमा यसमा लाग्ने नयाँ पुस्ताले समेत बजारको सहज पहुँच पाउनुका साथै त्यसतर्फ उत्साहित रूपमा अग्रसर हुन सक्नेछ । यसो गर्दा सरोकारवाला निकायलाई डिजिटल वित्तका बारेमा व्यापक प्रशिक्षित गर्न जरुरी छ । यस्तो काम सरकारी निकायका साथै विविध शैक्षिक संस्थाले समेत उत्तिकै प्राथमिकतामा राखेर गर्न सक्छन् । 

डिजिटल माध्यममा परिवर्तन भएको बजारको नियन्त्रण र पुँजीको हिस्सा, प्रविधिको सञ्चालकहरूको विश्वसनीयतामा निर्भर गर्छ । यस्तो नवीन प्रविधिमा आधारित रहेर निकै धेरै नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी नयाँ अवधारणा स्थापित भइरहेका छन् । नयाँ तथा पुराना प्रविधि आश्रित उद्यमले गर्ने बजारको प्रतिस्पर्धा तथा नियन्त्रणलाई कानुनी तथा नीतिगत तहबाट सरोकारवाला सबै निकायले नियमन तथा प्रवद्र्धन गर्न थप संवेदनशील तथा गम्भीर बन्नु जरुरी छ ।

संसद्मा प्रस्तुत समीक्षामाथि धारणा व्यक्त गर्ने क्रममा प्रतिनिधि सभामा मनिष झाले डिजिटल अर्थशास्त्रको बृहत् अभ्यास गरियोस् भन्ने माग गर्नुभएको छ । तर प्रविधि, पहुँच र पुँजीको यति बृहत्तर सम्बन्ध बुझेको जनप्रतिनिधिले आवाज उठाएकै भरमा कर्तव्य निर्वाह भएको सम्झनु र त्यसलाई थप निष्कर्षमा लैजाने गरी कुराहरू अगाडि नबढाउने हो भने यो सही कर्तव्य निर्वाह हुने छैन । तथापि यति गहन विषयमा कुरा नै उठ्नु पनि उपलब्धिको रूपमा लिन सकिन्छ । यसका साथै यस विषयलाई थप तार्किक दिशामा अगाडि बढाउन थप कानुनी तथा नीतिगत तहमा गर्ने प्रयत्नहरूले यस सदनको डिजिटल वित्तीय संवेदनशीलता प्रस्ट हुनेछ ।

डिजिटल माध्यमबाट हुने कारोबारमा प्रविधि तटस्थताको कुरा पनि निकै महìवपूर्ण छ । नेपालको वित्त क्षेत्रमा पछिल्लो समयमा भएका डिजिटल माध्यमको उपयोग तथा त्यसको समन्वयमा प्रविधि तटस्थताको कुरा निकै उपेक्षा गरिएको नवीन प्रविधिमा काम गर्ने नयाँ धेरै युवा वर्गको गुनासो सुन्न पाइन्छ । यसरी नयाँ प्रविधिसँग बजार व्यवस्थालाई जोड्दा सरकारका विभिन्न तह तथा निकायले गम्भीरता तथा निष्पक्षता नअपनाउने हो भने निकै भयावह स्थितिको सामना गर्न धेरै नयाँ बहाना खोजिरहन पर्ने छैन । वित्त बजारमा विविध नामबाट सरोकारवालाले गर्ने प्रतिस्पर्धा स्वच्छ र पारदर्शी रहोस् भन्ने कुरामा निकै संवेदनशील बन्न जरुरी छ ।

यस्तै डिजिटल वित्तको क्षेत्रमा हुने तथ्याङ्कको संवेदनशीलता झनै महìवपूर्ण पाटो हो । व्यक्तिको सम्पूर्ण चालू पुँजी नै त्यसको डिजिटल तथ्याङ्कसँग सुरक्षित हुने हुँदा त्यसो गलत प्रयोगले जुनसुकै स्तरको वित्तीय अराजकता निम्त्याउन सक्ने हुन्छ । मानिसहरूको आफ्नो निजी स्वामित्वसम्बन्धी कुराहरूको गोपनीयतासँगै तथ्याङ्कमा आधारित हुने स्वामित्वको गोपनीयता तथा सुरक्षा निकै चुनौतीपूर्ण र संवेदनशील विषय हो । यसर्थ यसको गम्भीरतालाई थप गहन ढङ्गले सबैले मनन गर्न जरुरी छ ।

वर्तमान विश्व परिवेशको अर्थतन्त्रसँग निकट रहँदै राज्यका थप विकासका लक्ष्यमा निरन्तर अगाडि बढ्न तथा सूचना तथा सञ्चार प्रविधि नीति २०७२ द्वारा निर्दिष्ट लक्ष्य हासिल गर्नसमेत विश्व बजारमा विकसित वर्तमान प्रविधिसँग समयानुकूल सचेत रहन अपरिहार्य छ । यसर्थ डिजिटल वित्तसम्बन्धी साक्षरतालाई अभियानकै रूपमा सञ्चालन गर्दै यो नवीन प्रविधि तथा बजारको यो विधालाई राज्यका निकाय तथा जनस्तरसम्म सचेतनासहितको पहुँचमा पु¥याउन वाञ्छनीय छ । 

हालका दिनमा बढ्दै गएको विद्युतीय माध्यमबाट हुने कारोबार तथा सेवा प्रवाहको गुणात्मक तथा परिमाणात्मक वृद्धिले गर्दा आगामी दिनमा सबै सरोकारवाला पक्ष यसका विविध पक्षबारे निरन्तर सचेत, संयमित तथा संलग्न रहिरहन बाध्यकारी बन्दै गएको छ । जनजीवनमा बजारको असीमित प्रभावलाई हामीले नकार्न सक्दैनौँ । तर यसका विविध आयामसँग परिचित रहँदै सबै सरोकारवालालाई सचेत राख्न सकेमा यसलाई समाजको सर्वाङ्गीण विकासमा सदुपयोग गर्न सकिनेछ ।

विद्यालय तहको शिक्षामा समेत डिजिटल वित्तको विषयलाई समावेश गरी नागरिकलाई गहिरोसँग परिचित गराउन जरुरी छ । यस्तो संवेदनशील विषयमा खास विशेष शिक्षा क्षेत्र तथा पाठ्यक्रम निर्माणका सरोकारवाला निकायलाई समेत सचेत गराउन र तत्सम्बन्धी ज्ञानलाई समावेश गरी लैजान तत्काल कदम चाल्न ढिलो भइसकेको छ । पाठ्यक्रममा समावेश हुने यससम्बन्धी विषयमा सही सूचना र ज्ञान प्रदान गर्नु र त्यसअनुसारको परिमार्जनलाई सम्बोधन गर्नु आवश्यक छ ।

यस विषयलाई अभियानकै रूपमा राज्यले स्वामित्व लिने र त्यसको प्रभावकारी सञ्चालनका लागि विभिन्न सरोकारवालासँग समन्वय गर्दै द्रुततर गतिमा लाग्नु निकै आवश्यक भइसकेको छ । यसरी विकसित नयाँ प्रविधिसँग जनतालाई सचेत गराउने र बजारको नयाँ स्वरूपमा अगाडि बढ्ने नयाँ विकासक्रमलाई समेत एकै समयमा सम्बोधन गर्न सकिन्छ । बजारमा विकास हुने नयाँ व्यवसायलाई र तत् व्यवसायका प्रकृति र प्रवृत्तिलाई सम्बोधन गर्नु र सुसूचित गर्नु राज्यको दायित्व त हुँदै हो भने ती व्यवसायसँग जनस्तरको तादात्म्यतासमेत कायम राख्न सबै सरोकारवालालाई समयमै त्यससँग प्रशिक्षित गराउनु पर्नेछ । 

यसकारण युग सुहाउँदो प्रविधि र ज्ञानलाई अवलम्बन गर्दै जनतालाई सहज र गुणस्तरीय जीवनयापनका लागि सहायता प्रदान गर्न साथै वित्तको नयाँ विधालाई पनि राज्यको सही अनुगमन र नियन्त्रणमा राख्दै अर्थ व्यवस्थालाई चलायमान राख्नसमेत ‘डिजिटल वित्तीय साक्षरता’ लाई अभियानकै रूपमा सञ्चालन गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ । 

लेखक इन्जिनियर हुनुहुन्छ ।