• १६ जेठ २०८२, शुक्रबार

युद्ध र द्वन्द्वले निम्त्याएका समस्या

blog

विज्ञान र प्रविधिको उच्चतम विकासले आज विश्व नै सानो गाउँ जस्तै बनेको छ । सूचनाको पहुँच सर्वत्र छ । क्षणभरमा विश्वका जहाँसुकै भएका घटना थाहा हुन्छ । मानिस पहिलेभन्दा शिक्षित र जान्नेसुन्ने भएका छन् । चरम भौतिक विकासले मानवीय जीवनमा अकल्पनीय सुविधा उपलब्ध गराएको छ । यस्तो अवस्थामा मानिस सुखी र खुसी हुनुपर्ने हो । सर्वत्र शान्ति छाउनुपर्ने हो तर दुःखको कुरा विज्ञान र प्रविधिको गलत प्रयोग, आमविनाशकारी हातहतियारको उत्पादन, युद्ध, द्वन्द्व र मानवीय कारणले सृजित जलवायु सङ्कटको त्रासमा बाँच्न विवश छन्, आजका मानिस । युद्ध र द्वन्द्वमा परेका निमुखाको अवस्था कारुणिक छ । अहिले बालबालिका, महिला र वृद्धवृद्धा सबभन्दा बढी मारमा परेका छन् । 

इजरायल–हमासबिच २० महिनायता जारी युद्धमा १८ हजार प्यालेस्टिनी बालबालिका मारिए । युद्धमा परी एक लाख १५ हजारभन्दा बढी बालबालिका घाइते र अङ्गभङ्ग भएका छन् । यीमध्ये २७४ नवजात शिशु र एक वर्षमुनिका आठ सयभन्दा बढी बालबालिका छन् । यही अवधिमा ५० भन्दा बढी बालबालिकाले भोकमरी र १७ बालबालिकाले विस्थापितका लागि राखिएका टेन्टमा चिसोका कारण जीवन गुमाएका छन् । 

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का अनुसार गाजामा ७१ हजार बालबालिका र १७ हजार सुत्केरी गम्भीर कुपोषणको सिकार बनेका छन् । ११ सातायता इजरायलले राहत सामग्री प्रवेशमै रोक लगाएका कारण २० लाख गाजावासीको भोक–प्यास र पीडा दिनानुदिन चर्किंदै गएको छ । गाजाका झन्डै १० लाख बालबालिका विस्थापित भएका छन् । उनीहरूले टर्कीको शरणार्थी शिविरमा कष्टकर शरण लिइरहेका छन् । गाजामै बसोबास गर्ने सबै बालबालिका कुनै न कुनै किसिमको हिंसा भोगेका कारण शारीरिक वा मानसिक समस्याबाट गुज्रिरहेका छन् । 

सन् २०२३ को अक्टोबर ७ देखि सुरु भएको इजरायल–हमास युद्धमा झन्डै ६० हजार प्यालेस्टिनी नागरिक मारिएका छन् । हजारौँ बालबालिका युद्धमा बाबुआमा गुमाएर बेसहारा बनेका छन् । जथाभाबी छाडिएका हातहतियारका कारण घाइते भएका तथा लगातारको द्वन्द्व र स्थानान्तरणले मनोवैज्ञानिक समस्यामा परेका बालबालिकाको लेखाजोखा गरिएको छैन । युद्ध थामिने सङ्केत नदेखिएको अवस्थामा शिक्षा, पौष्टिक आहार, वृत्ति विकास, स्वच्छ वातावरणसँगै परिवारसँग हुर्कन पाउने बालबालिकाको अधिकारका विषय पूरै ओझेल परेका छन् ।

अहिलेकै अवस्था लम्बिए सेप्टेम्बर अर्थात् अबको पाँच महिनामा चार लाख ७० हजार (गाजाको जनसङ्ख्याको २२ प्रतिशत) ले गम्भीर भोकमरीको सामना गर्नुपर्ने हुन्छ । १४ हजारभन्दा बढी बालबालिका अत्यन्तै डरलाग्दो कुपोषणको चपेटामा पर्न सक्ने अवस्था छ । गत मार्च २ मा इजरायली नाकाबन्दी सुरु भएयता गाजामा कुपोषणका कारण ५७ बालबालिकाको मृत्यु भएको छ । अहिलेको खाद्य नाकाबन्दी नरोकिए लगभग १४ हजारभन्दा बढी बालबालिकाको जीवन तत्काल जोखिममा पर्ने प्यालेस्टिनी अधिकारीहरूले बताउँदै आएका छन् । 

दोस्रो विश्वयुद्ध सकिएपछि सन् १९४८ मा इजरायल अस्तित्वमा आएको मुलुक हो । दोस्रो विश्वयुद्धमा अनाथ, विस्थापित वा मृत्यु भएका बालबालिकाको सङ्ख्या झन्डै एक करोड ३० लाख थियो । यस किसिमको त्रासदीपछि बाल अधिकारसम्बन्धी सन्धि, अन्तर्राष्ट्रिय मानवीय कानुन निर्माण, अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापना, द्वन्द्वमा बालबालिकाको प्रयोगविरुद्ध कानुनी र विश्वव्यापी सुधारका पहल गरिए । तैपनि त्यसपछिका युद्ध र द्वन्द्वमा सबैभन्दा धेरै बालबालिका नै पिल्सिन पुगे ।

सन् १९९४ मा अफ्रिकी मुलुक रुवान्डामा जातीय नरसंहार भयो । सय दिनभित्र झन्डै आठ लाख मानिस मारिए । त्यसरी मारिनेमा तीन लाख बालबालिका थिए  । सन् २०११ मा सुरु भएर सिरियाली गृहयुद्धमा पनि बालबालिका नै बढी प्रताडित भए । १० वर्षको यस गृहयुद्धमा घाइते वा मृत्यु भएका बालबालिकाको सङ्ख्या १२ हजारभन्दा बढी थियो । अहिले प्रत्येक आठ घण्टामा एक बालबालिका युद्धको सिकार हुने गरेका छन् । सिरियाली गृहयुद्धकै क्रममा पाँच हजार सात सयभन्दा बढी बालबालिकालाई सैनिकका रूपमा भर्ती गरिएको थियो । गृहयुद्ध हुँदा १३ सय विद्यालय तथा अस्पतालमा आक्रमण भएको थियो । युद्धका क्रममा अङ्गभङ्ग, बलात्कार, उत्पीडन, मनोवैज्ञानिक जटिलता जस्ता दीर्घकालीन समस्यामा पनि बालबालिका नै पर्ने गरेका छन् ।

सन् २०१५ देखि निरन्तर द्वन्द्व र हिंसामा फस्दै आएको यमनमा पनि बालबालिका प्रताडित छन् । सन् २०१५ देखि २०१८ सम्मको अवधिमै यमनमा पाँच वर्षमुनिका लगभग ८५ हजार बालबालिकाको द्वन्द्व, भोकमरी वा महामारीबाट मृत्यु भएको थियो । अहिले पनि त्यहाँ छ लाखभन्दा बढी बालबालिका तीव्र कुपोषणको सिकार भएका छन् । तीमध्ये एक लाख २० हजारको अवस्था गम्भीर छ । यमनको स्वास्थ्य सेवा प्रणाली ध्वस्त भएको छ । खाद्य सङ्कट र रोगको महामारीले बालबालिकालाई आधारभूत सेवा र जीवन रक्षा सुविधाबाट वञ्चित गराएको छ ।

सन् २०२२ देखि जारी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने, घाइते हुने, युद्धका जोखिमपूर्ण काममा प्रयोग हुने बालबालिकाको सङ्ख्या हजारौँ छ । अफ्रिकी महादेशका कङ्गो, सुडान, लिबियाका गृहयुद्धमा पीडित बालबालिकाको सङ्ख्याले पनि मानव अधिकार र मानवीय कानुनमा संवेदनशीलतालाई विश्वव्यापी रूपमै झस्काउने गरेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरालमाथि आक्रमण गर्दासमेत ३७ बालबालिकाको मृत्यु भएको थियो । त्यो दिन ३६ बालबालिकालाई अपहरण गरेर गाजा लगिएको थियो । त्यही दिनदेखि इजरायल–हमास युद्ध चलिरहेको छ ।

गाजामा रहेका झन्डै २१ लाख मानिसका लागि राहत सामग्री रोक्ने र आपत्कालीन सेवामा रहेका कर्मचारीमाथि समेत आक्रमण गर्ने इजरायली कार्यको विरोध बढ्दै गएको छ । युद्धका क्रममा आफ्ना कर्मचारी र पूर्वाधारमा आक्रमण हुँदासमेत राहत र उद्धारका लागि खटिएका राष्ट्रसङ्घीय निकायका प्रतिनिधि र आधिकारिक व्यक्तिहरूले इजरायलको युद्धप्रतिको रबैयाको विरोध गरेका छन् । इजरायलले शरणार्थी शिविर, तोकिएका सुरक्षित क्षेत्र र विस्थापित टेन्टमा बसेका प्यालेस्टिनीमाथि समेत आक्रमण गर्ने गरेको छ । त्यसमा सबैभन्दा पीडित बालबालिका हुने र केहीको त जलेरसमेत मृत्यु हुने गरेका तथ्य बाहिर आएका छन् ।

हमासको कब्जामा रहेको प्यालेस्टिनी क्षेत्रका बालबालिकामा देखिएको कुपोषणसम्बन्धी समस्याबारे सर्वत्र चिन्ता व्यक्त गरिएको छ । त्यहाँका मानिस यस्तो चक्रमा फसेका छन्, जहाँ पोषणयुक्त खानाको अभाव, रोग र कुपोषणले घेरेको छ । पर्याप्त पोषणयुक्त खाना, सफा पानी र स्वास्थ्य सेवामा पहुँच नहुँदा एउटा सिङ्गो पुस्ता स्थायी रूपमा प्रभावित हुने अवस्था छ । करिब तीन महिनादेखि इजरायलले गरेको नाकाबन्दीका कारण प्यालेस्टाइन र गाजाका हजारौँ बालबालिका मृत्युको जोखिममा परेका छन् । गाजामा भोकमरी गहिरिँदै गएको छ । त्यहाँ शीघ्र मानवीय पहुँचको आवश्यकता छ । गाजामा जारी मानवीय सङ्कटलाई लिएर बेलायतले समेत इजरायली नेतृत्वको चर्को आलोचना गरेको छ । गाजाको नाकाबन्दीका कारण उत्पन्न भोकमरी र बालबालिकाको जीवनमाथिको खतरा अत्यन्तै गम्भीर छ । यही कारण देखाएर बेलायतले इजरायलसँगको व्यापार वार्ता स्थगित गरेको छ । 

इजरायलको कदमविरुद्ध अमेरिकी संसद्मा समेत आवाज उठाइएको छ । गाजामा बालबालिकालाई भोकमरीको चपेटामा पारिनु अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको स्पष्ट उल्लङ्घन हो । युद्ध हतियारका रूपमा बालबालिकालाई भोकमरीबाट मार्नु जेनेभा महासन्धि, विदेशी सहायता ऐन र सामान्य मानवीय मर्यादाविपरीत कुरा हो । आजको सभ्य समाजले बालबालिकालाई भोकै मर्न दिनु विडम्बना नै हो । 

अमेरिकामा सिनेटर अलेक्जेन्ड्रिया ओकासियो कर्टेजले गाजामा जारी सङ्कट र त्यसमा अमेरिकाको भूमिकाकै आलोचना गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “म साना बच्चाहरूको मृत्युप्रति चिन्तित छु । म मानव अधिकारप्रति चिन्तित छु । अमेरिकी करदाताको अर्बौं डलर बराबरको हतियार प्रयोगबाट अकल्पनीय अत्याचार गरिँदै छ, म यसबारे पनि चिन्तित छु ।” युद्धका बिचमा पिल्सिएका बालबालिकाले खाना, औषधी र बसोबास पाउनुपर्ने चिज राजनीतिक लेनदेन र धार्मिक विवाद निरूपणको औजार बन्नु हुँदैन । गाजामा रहेका बालबालिकाका लागि आधारभूत सुविधा र राहत सहज बनाउनै पर्छ । 

अर्कोतर्फ विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको सिकार हुने अवस्थामा रहेका छन् । मध्य अफ्रिकी गणतन्त्र, चाड, नाइजेरिया, गिनी र गिनी–बिसामा रहेका बालबालिका जलवायु परिवर्तनको सबैभन्दा बढी खतरामा रहेका छन् । जलवायु सङ्कटले बाल अधिकारलाई पनि सङ्कटमा पारेको छ । युनिसेफले भनेको छ, “विश्वका दुई अर्ब २० करोड बालबालिकामध्ये झन्डै एक अर्ब बालबालिका अत्यन्तै जोखिमपूर्ण भनी वर्गीकृत ३३ देशमा बसोबास गर्छन् । उनीहरूले भोगिरहेका खतरामा बाढी, चक्रवात, ताप लहर, पानीको अभाव, वायु प्रदूषण, सीसा प्रदूषण र सङ्क्रामक रोगहरू समावेश छन् ।” जलवायु र वातावरणीय प्रभावले स्वच्छ हावा, भोजन र सुरक्षित पानीको पहुँचदेखि लिएर शिक्षा, आवास, शोषणबाट स्वतन्त्रता र बाँच्न पाउने तिनीहरूको अधिकारलाई समेत बालबालिकाको अधिकारको पूर्ण क्षेत्रलाई कमजोर बनाइरहेको छ । वास्तवमा कुनै पनि बालबालिकाको जीवनमा असर नपर्ने सम्भावना छैन । 

विश्वका कम्तीमा पनि चार करोड बालबालिकाले प्रारम्भिक शिक्षा लिने, विद्यालय जाने र खेल्नेलगायतको वातावरण नपाएको अथवा यस्ता कार्यबाट बालबालिका वञ्चित हुन पुगेका छन् । भोलिका देश निर्माणका आधार बालबालिका धेरैले युद्ध र विपत्तिमा आमाबाबु गुमाएर टुहुरा बनेका छन् । युनिसेफका अनुसार अहिले विश्वभर १५ करोड ३० लाख बालबालिका अनाथ छन् । युद्ध, गरिबी, रोग वा विपत्तिका कारण हरेक दिन पाँच हजार सात सय बालबालिका अनाथ भइरहेका छन् । पछिल्लो समय १२ वर्ष चलेको सिरियाको गृहयुद्धले ५६ लाख बालबालिकालाई असर परेको छ । उनीहरूलाई मानवीय सहयोगको खाँचो छ । त्यहाँका २५ लाख बालबालिका शरणार्थी बनी देश छाड्न बाध्य भए । यमनमा सन् २०१५ यता ११ हजार बालबालिका मारिए । २० लाख बालबालिका स्कुल जान वञ्चित भए । पाँच वर्षमुनिका १० लाख बालबालिका कुपोषणको सिकार भए । 

दोस्रो विश्वयुद्धपछि युरोप, अफ्रिका र दक्षिण एसियामा शरणार्थीको चाप बढ्यो । युद्धका कारण थातथलो छाडेर शरणार्थी बनेकाहरूको अवस्था जटिल बनेको छ । हाल विश्वमा २२ करोड २५ लाख मानिसले शरणार्थीका रूपमा कठोर जीवन जिउन बाध्य भएका छन् । अतः त्यसैले युद्ध रोकौँ, विपत्तिबाट जोगिने उपाय गरौँ, सबै मानिस सभ्य मानिस जस्तै भएर बाँच्न पाउनु पर्छ नत्र असमानताको यो खाडल कहिल्यै पनि पुरिने छैन ।