• १३ साउन २०८१, आइतबार

प्रदेश १ प्रदेशसभा बैठक

‘कोसी’ नामको प्रस्तावमा संशोधन दर्ता गर्न दुई घण्टाको समय

blog

प्रदेशसभा बैठक

गोकुल पराजुली

विराटनगर, फागुन १७ गते। प्रदेश १ को नामकरण गर्न जारी प्रदेश १ को बैठक दुई घण्टाका लागि स्थगित भएको छ। प्रदेश नामकरणको प्रस्तावमाथि छलफल सकिएपछि नामको विषयमा संशोधन दर्ता गर्न बैठक स्थगित भएको हो।

छलफलमा रहेको प्रदेशको ‘कोसी’ नाममाथिको प्रस्तावमा संशोधन दर्ताका निम्ति सभामुख बाबुराम गौतमले दुई घण्टा समय निर्धारण गरेर बैठक स्थगित गर्नुभएको हो।

नेकपा (एमाले)को प्रस्तावमा दर्ता भएको कोशी नामकरण गर्ने प्रस्तावमा नेपाली कांग्रेस र राप्रपा संसदीय दलले रोष्ट्रममार्फत समर्थन गरेका छन्। तर, कांग्रेसकै सांसद समशेर राई र विनोद राईले छलफलमा भाग लिनुहुँदै प्रस्तावित कोसी नाममा किरात थप्नुपर्ने भनाइ राख्नुभएको छ।

यसैगरी, नेकपा (एमाले)का सांसद रमेश बस्नेतले पनि किराँत नाम राख्दा जनमतको सम्मान हुने र यसले मुलुकलाई नोक्सान नहुने धारणा राख्नुभएको थियो।

नेकपा (माओवादी केन्द्र)ले आफ्नो पहिचानको पक्षमा भए पनि संसदीय गणितका कारण पहिचानसहितको नामकरण गर्न सम्भव नभएकोले अहिले नाम राख्न अवरोध नगर्ने बताएको छ। संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नामकरण गरेर जाने विषयमा आफूहरु सकारात्मक रहेको बताउनुभएको थियो।

प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) पार्टीले लिम्बुवान–किराँत–सगरमाथा नाम राख्नुपर्ने प्रस्ताव दर्ता गराएकोमा सभाको बहुमतले छलफलका लागि अस्वीकृत गरेको थियो।

निर्धारित दुई घण्टाको समयभित्र नाममाथि संशोधन परेमा त्यसमाथि पनि आवश्यक छलफल गरेर निर्णय हुने र संशोधन दर्ता नभए सिधै मतविभाजन गर्ने कार्यसूची छ।