• १३ साउन २०८१, आइतबार

हवाई यातायातको सुरक्षामा सरकार गम्भीर छ : मन्त्री किराती

blog

पत्रकार भेटघाट कार्यक्रममा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलगायत। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, फागुन १७ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई यातायातको सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताउनुभएको छ । 

प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री किरातीले हवाई यातायातको सुरक्षाको सवाल मानव जीवनसँगै पर्यटनको विकाससँग पनि जोडिएकोले सरकार सो विषयमा गम्भीर रहेको बताउनुभएको हो। 

हवाई सुरक्षाका लागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिसकिएको उहाँले बताउनुभयो। 

देशको समृद्धि र आर्थिक विकासका लागि पर्यटनको विकास अपरिहार्य भएको जनाउँदै मन्त्री किरातीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना र कार्यक्रम तयार पारिरहेको बताउनुभयो। 

हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्तीलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ। मन्त्री किरातीले  सोही क्रममा नेपालगञ्ज विमानस्थलमा तीन अर्ब बढीको लगानीमा अत्याधुनिक टर्मिनल भवन निर्माण सुरु गरेको बताउनुभयो।

मन्त्री किरातीले वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताउनुभयो। नेपाल वायु सेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने उहाँको भनाइ छ। 

मन्त्री किरातीले पत्रकारका जिज्ञासाको जवाफ सम्बन्धित विभागका प्रमुखलाई दिन लगाउनु भएको थियो। सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पत्रकारका जिज्ञासाको जवाफ दिनुभएको थियो। 

प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे, नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनाललगायतको उपस्थिति थियो।