गोविन्द शर्मा
बाँके, फागुन १७ गते । भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको नियमित कामकाजमा कमी आए पनि प्रदेश सरकार र स्थानीय तहको आम्दानी समेत प्रभावित भएको छ । मालपोतबाट लक्ष्यअनुसारको राजस्व प्राप्त नहुने भएपछि विभिन्न स्थानीय तहमा विनियोजित बजेट समेत प्रभावित हुने देखिएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख छविलाल नेपालीले पछिल्लो समय कार्यालयको कारोबार करिब ७५ प्रतिशतले न्यून भएको जानकारी दिनुभयो । “पछिल्लो समय कार्यालयमा कामको चाप अत्यधिक मात्रामा कमी भएको छ” कार्यालय प्रमुख नेपालीले भन्नुभयो, “पुँजीगत लाभकरसहित प्रदेश सरकार र स्थानीय तहमा पठाइने रकम घटेको छ । मालपोतमा सङ्कलित राजस्वको स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारलाई ४० प्रतिशत रकम भागवण्डा गरी वितरण गर्ने गरिएको छ ।
मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७८–७९ मा रजिस्ट्रेसन दस्तुरबापत ७६ करोड ८५ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो । यसैगरी सोही वर्षको पुस मसान्तसम्म ४४ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । तर चालु आवको ६ महिनाको तथ्याङ्कअनुसार राजस्व न्यून भएको छ ।
लेखा अधिकृत सञ्जीवनी सुवेदीले दिएको जानकारीअनुसार चालु आवको पुस मसान्तसम्म १९ करोड ५१ लाख रुपियाँ सङ्कलन भएको छ । पुँजीगत लाभकर ९ करोड २६ लाख रुपियाँ सङ्कलन भएको छ । गत आवमा स्थानीय तहलाई करिब ४६ करोड रुपियाँ मालपोतले पठाएकोमा यस वर्षको पुस मसान्तसम्म करिब ११ करोड ७० लाख रुपियाँ मात्रै पठाइने भएको छ । गत आवमा सोही अवधिमा २६ करोड ४८ लाख रुपियाँ पठाइएको थियो ।
मालपोत कार्यालयमा लिखत पास, राजीनामा, अंशवण्डा, हालसाबिक, मोही जग्गा बाँडफाँड, धितो रोक्का फुकुवालगायतका काम हुँदै आएकोमा सबै काम कम भएको छ । आर्थिक मन्दीसँगै कित्ताकाट रोकिएको, जग्गाको वर्गीकरणमा भएको ढिलाइ र लामो सरकारी बिदाका कारण पनि मालपोतको काम प्रभावित भएको कर्मचारीहरूले जनाएका छन् ।