विजयकुमार साह
ढल्केवर, फागुन १७ गते । धनुषामा आइतबार साँझ प्रहरी भ्यानबाट हामफालेर फरार भएका जबरजस्ती मुद्दाका आरोपी राजाबाबु मुखियालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ४ बजे जनकनन्दनी गाउँपालिका–१, इनर्वास्थित नेपाल–भारतको सीमा क्षेत्रबाट मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो ।
विशेष सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले मुखियालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय सबैलाईको नियन्त्रणमा रहेका मुखिया आइतबार साँझ शहीदनगर नगरपालिका–३, यदुकुहाबाट प्रहरीको भ्यानबाट हामफालेर फरार भएका थिए । ।
सबैला नगरपालिका–१३, किरतपुरका मुखियालाई फागुन ५ गते जबरजस्ती करणी आरोप प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा जनकपुरधामस्थित जिल्ला अदालत धनुषाबाट दोस्रो पटक १० दिनको म्याद थप गराई कार्यालयतर्फ ल्याउने क्रममा आइतबार साँझ यदुकुहाबाट फरार भएका थिए । पक्राउ परेका मुखियालाई जिल्ला प्रहरी कार्यालय, धनुषामा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता गौतमले बताउनुभयो ।
यता, थुनुवा गाडीमा सुरक्षार्थ खटिएका छ जना प्रहरीमाथि प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।